काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले पुनः सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। उनले यसअघि सञ्चालन गरिएको ‘एपिक फ्युरी’ अभियानजस्तै अर्को सैन्य कारबाहीको सम्भावना औँल्याएका हुन्।
शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुन सक्ने वा अमेरिकाले अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने बताएका थिए।
इरानले बुद्धिमत्ता देखाउँदै गम्भीर वार्ताको प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ थियो। यद्यपि, इरानले त्यसो गर्नेमा आफूलाई शङ्का रहेको उनले बताए।
ट्रम्पले इरानको अर्थतन्त्र विश्वकै खराब अर्थतन्त्रमध्ये एक भएको दाबी गर्दै अमेरिकी कारबाहीका कारण इरानले ठूलो आर्थिक तथा सैन्य क्षति बेहोरेको बताएका छन्।
यसअघि शुक्रबार नै ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्न सकिने टिप्पणी गरेका थिए। तर, युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्ने वा क्रमशः साम्य हुन दिने भन्ने विषयमा पनि उनले प्रश्न उठाएका थिए।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया