काठमाडौं । नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको केन्द्रीय कार्यालयको ताला खोलेका छन्।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन्। उनीहरूले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन्।
खड्काका अनुसार कार्यसमितिका एकतिहाइभन्दा बढी सदस्यले बैठक बोलाउन माग गरे पनि २१ दिनसम्म बैठक आह्वान नभएपछि विधानअनुसार २२औँ दिनमा बैठकका लागि पहल गरिएको हो।
बैठकमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपाली फुटबलमाथि लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत निर्वाचनमा देखिएका अवरोधबारे छलफल हुने जनाइएको छ।
खड्काले एन्फा अध्यक्ष, महासचिवसहित सबै कार्यसमिति सदस्यलाई बैठकमा सहभागी भएर समस्याको समाधान खोज्न आग्रह गरेका छन्। बैठकको उद्देश्य कुनै पदाधिकारीलाई हटाउने नभई नेपाली फुटबललाई निकास दिनु रहेको उनको भनाइ छ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबलका गतिविधि प्रभावित हुँदै आएका छन्। कात्तिक १३ गतेको बैठकले प्रतिबन्ध र आन्तरिक विवाद समाधानका लागि कस्तो निर्णय गर्छ भन्ने चासो बढेको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया