काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘खराने ग्याङ’ का नेताको अभिव्यक्ति र सार्वजनिक भइरहेका भिडियोप्रति आपत्ति जनाएका छन्। आफ्नो पुरानो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर सम्पादन गरी गलत अर्थ लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै २’ को नौ दिनको बक्स अफिस विवरण सार्वजनिक भएपछि फिल्म र त्यसका कलाकारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी तथा भिडियो सार्वजनिक भइरहेका छन्। फिल्मले अपेक्षाअनुसार व्यापार गर्न नसकेको भन्दै केही प्रयोगकर्ताले दीपकराजका पुराना अभिव्यक्तिका अंश काटेर प्रसार गरिरहेका छन्। ती सामग्रीमार्फत फिल्म बहिष्कार गर्नुपर्ने आशयका सन्देशसमेत फैलाइएको छ।
यही विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गिरीले असहमतिलाई हिंसा वा धम्कीबाट नभई बौद्धिक बहसका माध्यमबाट व्यक्त गर्नुपर्ने बताएका छन्।
‘कसैलाई लखेट्नु, पिट्नु, भगाउनु राम्रो होइन। यदि असहमति छ भने बौद्धिकताले लखेट्नुपर्छ,’ भन्ने आफ्नो अभिव्यक्तिलाई स्मरण गराउँदै उनले केही अतिवादी कार्यकर्ताले त्यसमा विभिन्न प्रसङ्ग जोडेर तथा बीचका अंश काटछाँट गरेर गलत व्याख्या गरेको आरोप लगाएका छन्।
आफ्नो तस्बिर राखेर बहिष्कारका नारा लगाउँदै सामाजिक सञ्जालमा सामग्री फैलाइएको देख्दा आफू आश्चर्यमा परेको उनको भनाइ छ।
गिरीले जातीयता र अतिवादलाई राजनीतिक स्वार्थसँग जोडेर समाजमा विभाजन तथा द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिको पनि विरोध गरेका छन्। लामो समयदेखि सहिष्णुतामा हुर्किएको नेपाली समाजमा जातीय घृणा फैलाएर राजनीतिक अभीष्ट पूरा गर्न खोज्नु गलत भएको उनको आशय छ।
कला र संस्कृति सबैलाई जोड्ने माध्यम भएकाले त्यस क्षेत्रमा समेत जातीय विभाजन र घृणा फैलाउने गतिविधि स्वीकार्य नहुने उनले बताएका छन्।
‘हरेक कुरामा जातीयता छिराउने, अतिवादको बुइँ चढेर वर्षौंदेखिको सहिष्णुतामा हुर्केको समाजमा द्वन्द्व सिर्जना गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने, साथै कला र संस्कृति क्षेत्रमा समेत जातपात छिराएर घृणा फैलाउने कुराको सदैव विपक्षमा नै उभिएको थिएँ र रहिरहनेछु,’ उनले लेखेका छन्।
स्टाटसको अन्त्यमा गिरीले जात र धर्मलाई राजनीतिक स्वार्थसँग जोडेर समाजमा विभाजन ल्याउने प्रयासप्रति असहमति जनाउँदै ‘जय नेपाल’ लेखेका छन्।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया