काठमाडौं । जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार जनताप्रति उत्तरदायी र संसद्प्रति जवाफदेही नभएको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले पछिल्लो समय पत्रकार, अधिकारकर्मी तथा सञ्चारमाध्यममाथि भएका घटनाप्रति असन्तुष्टि जनाएकी हुन्।

उनले मिडिया हाउसअगाडि गाडी तेर्स्याउने, अधिकारकर्मीमाथि हातपात गर्ने, हातखुट्टा भाँचिदिने धम्की दिने र न्यूजरुमबाटै पत्रकारलाई नियन्त्रणमा लिने घटनालाई अलोकतान्त्रिक गतिविधिको संज्ञा दिएकी छन्।

यस्ता घटनापछि विषयान्तर गर्ने प्रवृत्ति देखिएको भन्दै उनले सरकारसँग जनताप्रति उत्तरदायित्व र संसद्प्रति जवाफदेहिता दुवै नभएको टिप्पणी गरेकी छन्।

प्रधानमन्त्री कार्यालयले आफ्नै सुरक्षा निकायले गरेको गतिविधिबारे अनभिज्ञता जनाएको प्रसङ्ग उठाउँदै पाण्डेले त्यसप्रति पनि प्रश्न गरेकी छन्। देशको भूभागसम्बन्धी विषयमा जानकारी राख्ने सरकारले आफ्नै सुरक्षा निकायको गतिविधिबारे थाहा नभएको भन्नु पत्याउन कठिन हुने उनको भनाइ छ।

प्रधानमन्त्री शाहलाई लक्षित गर्दै उनले देशलाई नै ‘लुडो’ बनाएको टिप्पणी गरेकी छन्।

‘देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको सम्पूर्ण श्रेय पनि आफैँ लिनुहोस् प्रधानमन्त्रीज्यू’ पाण्डेले लेखेकी छन्।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com