काठमाडौं । पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकार र प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं पनि सामाजिक सञ्जालमार्फत बहसमा जोडिएका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले आइतबार फेसबुकमा २८ जना पत्रकारको भनिएको सूचीलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेपछि प्रधानमन्त्री बालेनले पनि त्यसमा प्रतिक्रिया जनाएका हुन् ।
बेनले पत्रकारहरूलाई मेन्सन गर्दै ‘यो २८ जना पत्रकारमा को–को पर्या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो,’ भन्दै पोस्ट गरेका थिए ।
उक्त पोस्टमा टिप्पणी गर्दै प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘कुपण्डोल जाने मात्र पत्रकार?, अरू कलाकार ?’
पत्रकार पक्राउ प्रकरणमा सरकारको भूमिकामाथि जवाफदेहिता खोजिँदै गर्दा प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकार दुवै व्यङ्ग्यात्मक टिप्पणीमा उत्रिएपछि विवाद थप चर्किएको छ ।
संविधानको धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ भने सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले समाचारको स्रोत गोप्य राख्न पाउने अधिकारको व्यवस्था गरेको छ । यस्तो संवेदनशील विषयमा सरकारको उच्च तहबाट आएका टिप्पणीले पत्रकार पक्राउ प्रकरण र प्रेस स्वतन्त्रतासम्बन्धी बहसलाई थप पेचिलो बनाएको छ ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया