काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् । उनले विगतको राजनीतिक घटनाक्रमबाट पाठ सिक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका पालामा प्रहरी महानिरीक्षकलाई समयअगावै परिवर्तन गरिएको घटनाको स्मरण गराएका हुन् ।
उनले त्यतिबेला आईजीपी परिवर्तन गर्ने निर्णय नेकपा (एमाले) का लागि सुखद् नभएको उल्लेख गरेका छन् । प्रहरी महानिरीक्षकको पुनर्बहालीपछि एमालेले पार्टी विभाजनसम्मको गम्भीर पीडा भोग्नुपरेको उनको भनाइ छ ।
पोखरेलले विगतको उक्त तितो राजनीतिक अनुभवबाट रास्वपा नेतृत्वको सरकारले पाठ सिक्न नसकेको टिप्पणी गरेका छन् ।
पोखरेलले लेखेका छन्, “हिजो कमरेड वामदेव गौतम गृहमन्त्री रहेका बेला समयअगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दाको परिणाम नेकपा (एमाले) का लागि सुखद् रहेन । उसले प्रहरी महानिरीक्षकको पुनर्बहालीपश्चात् पार्टी विभाजनसम्मको गहिरो पीडासमेत बेहोर्नुपरेको थियो । रास्वपा नेतृत्वको सरकारले उक्त तितो यथार्थबाट पाठ सिक्न सकेको देखिएन।”
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया