काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनका क्षेत्रमा विश्वभर प्रभाव पार्ने १०० व्यक्तित्वको सूचीमा परेका छन्। अमेरिकी प्रतिष्ठित पत्रिका टाइमले सन् २०२६ का लागि सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्लेलाई समावेश गरेको हो।

दिगो आर्थिक विकास, जलवायु न्याय र नीतिगत सुधारका क्षेत्रमा झन्डै २८ वर्षदेखि सक्रिय वाग्लेले अन्तर्राष्ट्रिय स्तरमा जलवायु वित्त र जलवायु संकटबाट प्रभावित राष्ट्रहरूको अधिकारका पक्षमा उठाउँदै आएको आवाजलाई टाइमले महत्त्व दिएको छ।

विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु संकट र त्यसले निम्त्याएको क्षतिबारे निरन्तर पैरवी गर्दै आएका थिए।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य रहे पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालजस्ता विकासशील मुलुकले भोग्नुपरेको विषयलाई उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका थिए। जलवायु संकटका लागि बढी जिम्मेवार विकसित तथा ठूला उत्सर्जक राष्ट्रले प्रभावित देशप्रति उत्तरदायित्व लिनुपर्ने उनको जोड रहँदै आएको छ।

रसुवा–भोटेकोशी बाढीपछि नेपाल सरकारले जलवायुजन्य क्षतिको क्षतिपूर्तिका लागि विश्वका प्रमुख तीन हरितगृह ग्यास उत्सर्जक मुलुक चीन, अमेरिका र भारतसँग औपचारिक आग्रह गरेको थियो। उक्त विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्स्थापना र पुनर्निर्माणका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ।

यसै सन्दर्भमा वाग्लेले जलवायु विपद्बाट प्रभावित कमजोर राष्ट्रलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको क्षति तथा नोक्सानी कोषबाट नेपालले सहायता पाउनुपर्ने विषयमा पहल गरेका थिए।

टाइमका अनुसार गत अक्टोबर २२ मा संयुक्त राष्ट्रसंघले उक्त कोषमार्फत नेपाललाई दुई करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको थियो। जलवायु परिवर्तनबाट भएको क्षतिको सम्बोधनका लागि स्थापना गरिएको यस कोषबाट सहायता स्वीकृत हुने नेपाल पहिलो देश बनेको टाइमले उल्लेख गरेको छ।

वाग्लेको पहलले जलवायु न्याय र जलवायुजन्य क्षतिको आर्थिक दायित्वसम्बन्धी मुद्दालाई विश्वव्यापी बहसमा थप स्थापित गर्न योगदान पुर्‍याएको पत्रिकाको भनाइ छ। जलवायु संकटमा न्यून भूमिका भएका नेपालजस्ता देशले सबैभन्दा बढी क्षति बेहोर्नुपरेको अवस्थामा अन्तर्राष्ट्रिय सहयोग र जिम्मेवारीको विषय महत्त्वपूर्ण रहेको उनले उठाउँदै आएका छन्।

टाइमको यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र अमेरिकी प्रविधि कम्पनी मिलका प्रमुख कार्यकारी अधिकृत म्याट रोजर्सलगायत विश्वका चर्चित व्यक्तित्व पनि समेटिएका छन्।

‘टाइम १०० क्लाइमेट’ सूचीमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, स्वच्छ ऊर्जाको प्रवर्द्धन, जलवायु वित्तको व्यवस्थापन, वातावरण संरक्षण तथा नयाँ प्रविधिको प्रयोगमार्फत जलवायु संकट समाधानमा योगदान पुर्‍याउने विश्वभरका राजनीतिज्ञ, नीति निर्माता, वैज्ञानिक, अभियन्ता र उद्यमीलाई समावेश गरिँदै आएको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com