काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे पनि व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत रूपमा कति विकेट लिएँ भन्नेभन्दा आफ्नो प्रदर्शनले टोलीलाई जिताउन कति सहयोग गर्यो भन्ने कुरा महत्वपूर्ण हुने बताए ।
‘ह्याट्रिक होस्, पाँच विकेट होस् वा जति पनि विकेट होस्, त्यसले टिमलाई जिताउन सहयोग गरिरहेको छ भने म सधैँ त्यही गर्न चाहन्छु । मेरो लागि एक विकेट लिएर टिमले जित्नु वा पाँच विकेट लिएर टिमले जित्नु एउटै हो । म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु,’ उनले भने ।
विपक्षी टोलीलाई १३२ रनमा सीमित गर्न सबै बलरको योगदान महत्वपूर्ण रहेको सन्दीपले बताए । अन्य बलरले अर्को छेउबाट दबाब सिर्जना गरेकाले आफूलाई बलिङ गर्न सहज भएको उनको भनाइ थियो ।
प्रतियोगिताभरि विराटनगरले यस्तो सामूहिक प्रदर्शन देखाउन नसकेको उल्लेख गर्दै उनले आजको खेल टोलीको एकताबद्ध प्रदर्शनको राम्रो उदाहरण भएको बताए ।
लक्ष्य पछ्याउने क्रममा ब्याटिङतर्फ केही संघर्ष गर्नुपरे पनि जित हासिल गर्नु महत्वपूर्ण रहेको उनले बताए । नेट रनरेट सुधार्नुभन्दा खेल जितेर दुई अंक जोड्नु टोलीको प्राथमिकता रहेको उनको भनाइ थियो ।
सन्दीपले टोलीको फिल्डिङमा भने सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । क्याच छुट्ने र मिसफिल्ड हुने समस्या रहेको उल्लेख गर्दै उनले खेलाडीबाट मैदानमा इमानदार प्रयास र प्रतिबद्धता देख्न चाहेको बताए ।
दबाबपूर्ण अवस्थामा सुशीलले गरेको ब्याटिङ र प्रदर्शनको पनि सन्दीपले प्रशंसा गरे । सुशीलजस्ता अनुभवी खेलाडी टोलीमा हुँदा युवा खेलाडीले धेरै कुरा सिक्ने अवसर पाउने उनको भनाइ थियो ।
नेपाल क्रिकेटको भविष्यबारे बोल्दै सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अझै प्रगति गर्नुपर्ने बताए । भविष्यमा नेपाली खेलाडीले विश्वकै प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने अवसर पाउने आशासमेत उनले व्यक्त गरे ।
प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया