काठमाडौँ । ‘राष्ट्रहरुको स्वतन्त्रताका लागि’ रुसको राजधानी मस्कोमा त्यहाँको सत्तारुढ दल युनाइटेड रसियाद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर पूर्व प्रधानमन्त्री एवम् नेकपा संयोजक पुष्पकमल दाहाल’प्रचण्ड’ आज बिहान स्वदेश फिर्ता भएका छन् ।
विश्वका ७६ देशका विभिन्न राजनीतिक दलका ४८० जना नेता तथा प्रतिनिधिको सहभागिता रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा संयोजक प्रचण्डले दुईपटक सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रचण्डले हरेक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको बताएका थिए ।
प्रचण्डले आफ्ना आर्थिक नीति र विकासका प्राथमिकता तय गर्न स्वतन्त्र नभएसम्म साँचो अर्थमा कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण नहुने बताएका थिए ।
संसार बहुध्रुवीय विश्व व्यवस्थातर्फ गएको औँल्याउँदै संयोजक प्रचण्डले भने- ‘बाह्य हस्तक्षेपबिना भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई छ। सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित व्यवस्था बन्नुपर्छ।’
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया