काठमाडौं । नेपालमा भन्सार छलेर र अवैध बाटोमार्फत् ल्याइने गरेका सुन समयसमयमा बरामद हुने गरेको छ। यही क्रममा यो साता ठूलो मात्रामा सुन फेला परेपछि त्यसलाई ‘कस्टडीमा राखेर’ थप प्रक्रिया अगाडि बढाउन थालिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले भनेको कस्टडी अरूको पहुँच नहुने सुरक्षित स्थान हो।
बरामद गरिएको सुनको सुरक्षित भण्डारण गर्न तथा तौल लिन त्यसलाई नेपाल राष्ट्र ब्याङ्क पठाइसकिएको राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ। बरामद सुन सुरुमा नेपाल राष्ट्र व्याङ्कको टक्सार महाशाखाले तौलिने गर्छ।
“त्यहाँ मिहिन ढङ्गले जोख्ने प्रक्रिया छ। किनकि सुनजस्तो बहुमूल्य वस्तुमा कोठाभित्र र बाहिर नै तौल गर्दा समेत केही फरक पर्न सक्छ,” टक्सारमा काम गरिसकेका राष्ट्र व्याङ्कका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल भन्छन्।
टक्सार महाशाखाले एउटा समिति बनाएर काम गर्छ।
उक्त समितिमा बरामद गर्ने सुरक्षा निकाय, भन्सार वा राजस्व अनुसन्धान विभाग लगायत निकायका प्रतिनिधि समेत हुन्छन्।
तौल लिने काम सकिएपछि महाशाखाले एउटा पत्र तयार पार्छ जसमा “सुनजस्तो देखिने पहेँलो धातु” लेखिएको हुन्छ।
“किनकि सुन त नगलाईकन यकिन हुँदैन,” नेपाल भन्छन्।
बरामद भएको सुनको विषयमा मुद्दा पनि पर्न सक्ने भएकाले कानुनी टुङ्गो नलाग्दासम्म उक्त सुन राष्ट्र ब्याङ्कको ‘कस्टडीमा’ राखिने अधिकारीहरू बताउँछन्।
गलान कमिटीले के गर्छ ?
बरामदकर्ता निकायले उक्त सुनमा कुनै विवाद वा मुद्दा नभएको कुरा लिखित रूपमा पेस गरेपछि पुनः राष्ट्र ब्याङ्क सक्रिय हुन्छ।
उक्त निकायलाई सुन निर्क्योल गरेर त्यसबापतको रकम नेपाल सरकारको खातामा जम्मा गर्नका लागि अनुरोध आएपछि त्यहाँ हुने ‘गलान कमिटी’को काम सुरु हुन्छ।
कार्यकारी निर्देशक नेपाल भन्छन्, “राष्ट्र ब्याङ्ककै विभिन्न विभागका प्रतिनिधि र सुन ल्याउने सम्बन्धित निकायका प्रतिनिधिको रोहबरमा सुनलाई पगालेर त्यो कुन ‘टच’को भन्ने निर्क्योल गरिन्छ।”
बजारमा सुनलाई ‘क्यारेट’मा मूल्याङ्कन गरिए जस्तै राष्ट्र ब्याङ्कको भाषामा त्यसको गुणस्तरलाई ‘टच’ भनिन्छ।
त्यस्तो वर्गीकरण सूक्ष्म ढङ्गले हुने अधिकारीहरू बताउँछन्।
ठूलो मात्रामा सुन गलाउनका लागि राष्ट्र ब्याङ्कमा ‘हार्नेस’ उपकरण छ।
त्यसरी गलाउने काम सकिएपछि त्यस दिन अन्तर्राष्ट्रिय बजारमा चलेको सुनको मूल्यलाई आधार मानेर त्यसमा पाँच प्रतिशत थपेर सरकारको खातामा पैसा जम्मा गरिने कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन्।
समय कति लाग्छ ?
यस पटक हङ्कङबाट दुईपाङ्ग्रे सवारीसाधनको ‘ब्रेक शू’ मा लुकाएर ल्याइएको झन्डै १०० केजी सुन बरामद भएको बताइएको छ।
उक्त परिमाणको सुन गलाउनका लागि तीनदेखि चार दिनसम्म लाग्न सक्ने राष्ट्र ब्याङ्कका अधिकारीहरूको आकलन छ।
“सुनको गुणस्तरका आधारमा हार्नेसले कामको गति लिने भएकाले त्यो अहिले नै भन्न सकिन्न,” नेपाल भन्छन्।
“धेरैखाले सुन मिश्रित भएको भएमा केही बढ्ता समय लाग्न सक्छ। अन्यथा एक पटकमा १० किलोग्राम सुन गलाउन सक्ने हाम्रो हार्नेसको क्षमता छ। एक पटकको प्रक्रिया पूरा गर्न डेढ घण्टासम्म लाग्छ।”
सुन गुणस्तरीय हुँदाका हकमा एकैदिन ३० केजीसम्म गलाउन सकिने नेपाल बताउँछन्।
राष्ट्र ब्याङ्कमा पुर्याइएपछि त्यहाँ चौबिसै घण्टा निगरानी गर्ने क्यामरासहितका सुरक्षा प्रणाली रहेकाले सुन “तलमाथि” हुने कुनै सम्भावना नहुने अधिकारीहरू बताउँछन्।
अनुसन्धान कसरी अगाडि बढ्छ?
उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा बिहीवार छलफल भएको थियो
पाटन उच्च अदालतले यस घटनामा संलग्न सातजना आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गर्न बिहीवार १० दिनको समय दिएको छ।
सय किलोसम्म सुन काठमाण्डूस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कसरी तस्करी सम्भव भयो भन्नेबारे अनुसन्धान गर्न भन्सार विभागले समेत एउटा छानबिन समिति गठन गरेको महानिर्देशक नवराज ढुङ्गानाले बताए।
“यो सुनको असली मालिक को हुन् र यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्दै उनीहरूलाई कानुनको दायरामा ल्याउने गरी अनुसन्धान अघि बढ्छ,” उनले भने।
ढुङ्गानाका अनुसार अहिलेको सुन तस्करी प्रकरणमा बिहीवार साँझमा पक्राउ परेका तीन जनासहित १० जना पक्राउ परेका छन्। तीमध्ये एक विदेशी नागरिक छन्। भन्सार विभागले पनि आन्तरिक छानबिन गरिरहेको जनाएको छ।
विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार प्रणालीमा केही खराबी भएको अथवा एक्सरे मशीनमा नदेखिएको हो कि मान्छेको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ।
–बिबिसी
प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार
प्रतिक्रिया