• अदक्ष सम्पादकको हालिमुहाली

  • दलाली पत्रकारिता
  • अपादर्शी लगानी, स्वार्थ समूहको हालीमुहाली
  • बार्गेनिङ मिडिया
  • राजनीतिक दलको गम्छा ओढेको नेपाली पत्रकारिता
  • बार्गेनिङ मिडियाप्रती जनता सजग हौ

छिल्लो समय पत्रकार र मिडियाका नाममा अवैध पैसा असुली गर्ने विभिन्न किसिमका विकृतिजन्य गतिविधि बढेको गुनासो सर्वत्र बढ्दै गइरहेको छ। भन्ने गरिन्छ ‘प्रायः मिडियामा त पत्रकारिता पेशाको सामान्य मर्यादा समेत थाहा नभएका संचालक र सम्पादक छन् जो पत्रकारिताको आडमा ‘बार्गेनिङ’को धन्दा चलाउन मात्र खुलेका छन्। ‘उद्योगी तथा ब्यवसायी बारे गलत अफवाह फैलाउने धम्की दिएर बिज्ञापन तथा पैसा असुल्ने बार्गेनिङ पत्रकारिताले प्रतिष्ठित उद्योगी व्यवसायीहरु पिल्सिएका छन। उद्योगी ब्यबसायी मात्रै होइन कानुनको पालना गराउने प्रहरीहरु समेत बार्गेनिङ पत्रकारिता बाट हैरान छन्। बिगतमा प्रहरीसँग बार्गेनिङ गर्ने केही पत्रकार पक्राउ परे पनि अधिकांश प्रहरी नै पत्रकार भनेपछि हच्किने गरेका छन्। विशेषत: नेपाल–भारत सीमा क्षेत्रका जिल्लामा कतिपय अनलाइन त पैसा असुलीका लागि मात्र सञ्चालन गरिएका छन्। पत्रकारको परिचयपत्र देखाएर प्रहरी, तस्कर, विचौलिया र व्यवसायीसँग पैसा असुली गर्ने गरेको विभिन्न समयमा गुनासाहरु छताछुल्ल भइरहन्छन्। मिडियाकर्मीको माग पूरा गरे ब्यबसायी तथा प्रहरीको गैरकानुनी गतिविधि लुकाउन ढाकछोप पत्रकारीता गर्छन। माग पूरा नगरे अपुष्ट समाचार बनाएर व्यावसायिकता नै धरापमा पार्ने गरि बार्गेनिङ पत्रकारीता गर्छन्। यसले पनि प्रष्ट पार्छकी मोफसलमा पत्रकारिताका नाममा थुप्रै विकृति हुँदै आएका छन्।

पत्रकार र पत्रकारिताको नाममा थुप्रै बेथिति बढ्दै जाँदा समाजमा पत्रकार र पत्रकारिताप्रतिको विश्वसनीयतामाथि प्रश्न चिन्ह उठ्न थालेको छ भने नियामक निकाय मुकदर्शक बनेको देखिन्छ ।

अदक्ष सम्पादकको हालिमुहाली

मालिकको स्वार्थ पूरा गर्ने शर्तमा भर्ना भएका अधिकांश सम्पादकहरु पत्रकार आचारसंहिताको सामान्य ज्ञानबाट समेत कोशौं दुर छन्। मालिकले आफूलाई अह्राइएको काम गर्नुलाई मात्र सम्पादकले आफ्नो ‘पत्रकारिताको कर्तव्य’ ठान्दा पत्रकारिता थप बद्नाम भइरहेको छ।

पत्रकारिता अध्ययन गरेका दक्ष जनशक्ति बिदेश पलायन हुनुपरेको छ। पत्रकारिता बाहेक अन्य विषयमा स्नातक अध्ययन गरेका मिडिया मालिकलाई सहज हुने गरि ‘एसम्यान’ सम्पादकमा नियुक्ति हुन्छन्। यसमा राज्य संयन्त्र, सुचना बिभाग तथा प्रेस काउन्सिलको समेत गम्भीर त्रुटी देखिन्छ। पत्रकारिता अध्ययन गरेका दक्ष ब्यक्ति सम्पादक हुन पर्नेमा जुनसुकै विषय अध्ययन गरेको भएतापनी स्नातक उत्तीर्ण गरेको ब्यक्ति सम्पादकमा नियुक्ति हुन पाउने गलत ब्यबस्थाले नेपाली पत्रकारिताले आफ्नो ट्र्याक छोडेर ‘बार्गेनिङ पत्रकारिता’ लाई प्रसय मिलेको प्रष्ट देखिन्छ ।

दलाली पत्रकारिता

पत्रकारिता राजनीतिक पक्षधरता र स्वार्थबाट निरपेक्ष स्वतन्त्र पेसा हो । पत्रकारितामा आउनेहरू के बन्न आएका हुन् ? अर्बपति ?, राजनीतिज्ञ, दलाल, विचौलिया या पत्रकार ? अहिलेको मुख्य प्रश्न नै यही हो। पत्रकारिता गर्ने पत्रकार हुनका लागि हो। यसमा कुनै दुईमतै हुनसक्दैन। तर, नेपालको पत्रकारिता ब्यापारीलाई ठोक्ने र तस्करलाई बोक्ने कार्यमा प्रष्ट देखिन्छन्।

पत्रकार र पत्रकारिताको नाममा थुप्रै बेथिति बढ्दै जाँदा समाजमा पत्रकार र पत्रकारिताप्रतिको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ। यसको मारमा व्यावसायिक पत्रकारहरु परेका छन्। जो दिनभरि जनता र राज्यसँग पुलको काम गर्न सूचना संकलनका लागि तल्लीन छन्। व्यक्तिगत फाइदाका लागि पत्रकारिता पेसामा आबद्ध हुने व्यक्तिले नै बेथिति बढाउने गरेको श्रमजीवी पत्रकारहरु बताउँछन्।

अपादर्शी लगानी, स्वार्थ समूहको हालीमुहाली

तीन करोड जनसंख्या भएको नेपालका लागि कति मिडिया आवश्यक छ? नेपालको विज्ञापन बजारले कति मिडिया धान्न सक्छ? यस विषयमा कुनै अध्ययन नभए पनि नयाँ मिडिया थपिइरहेकै छन्। अर्कोतर्फ कुन-कुन क्षेत्रबाट के-के उद्देश्यका लागि मिडियामा कस्तो लगानी भएको छ भन्ने विषयमा पनि अध्ययन भएको छैन। यद्यपि, देखिएको सत्य के हो भने ‘स्वार्थ समूह’को लगानी भएका मिडिया नै व्यावसायिक जिम्मेवारीबाट च्यूत भएका छन्। राजनीतिक दल, गुट, तस्कर, धार्मिक समुदाय लगायतका ‘स्वार्थ समूह’ मिडियामा हाबी भइरहेको देखिन्छ।

एकातिर, अधिकांश मिडिया मालिक आफूले गरेको लगानीबारे प्रष्ट छैनन्। तिनका मातहतमा कार्यरत सञ्चारकर्मी पत्रकार आचार संहिताको सामान्य ज्ञानबाट कोशौं दूर छन्। अर्कोतिर, मालिकको स्वार्थ पूरा गर्ने शर्तमा भर्ना भएका सम्पादकले आफूलाई अह्राइएको काम गर्नुलाई मात्र ‘पत्रकारिताको कर्तव्य’ ठान्दा पत्रकारिता थप बद्नाम भइरहेको छ।

विभिन्न पेशा र व्यावसायमा संलग्न व्यक्ति सञ्चार क्षेत्रमा जोडिँदा पत्रकारिता ‘कमाउ धन्दा’ बनिरहेको छ। किनभने गलत समाचार प्रकाशन/प्रशारण गरेर व्यक्ति र संस्थाको चरित्र हत्या गर्ने, बार्गिनिङ गर्ने, धम्क्याउने जस्ता गैर-व्यावसायिक प्रवृत्ति अनियन्त्रित ढंगमा मौलाउँदै छ।

बार्गेनिङ मिडिया

नेपाली पत्रकारितामा ‘बार्गेनिङ’ गर्ने प्रवृत्ति नयाँ होइन। राजनीतिक र व्यावसायिक स्वार्थ पूरा गर्नका लागि खोलिएका मिडियाले यो धन्दा चलाउँदै आएका हुन्। साप्ताहिक पत्रिकाबाट शुरू भएको बार्गेनिङ प्रवृत्ति तथ्य भन्दा पर रहेर सनसनीपूर्ण समाचार प्रस्तुतिको अभ्यास गर्ने रेडियो र टेलिभिजन हुँदै अनलाइनमा मौलाएको छ।

सूचना कमजोर गराएर व्यक्तिगत लाभ लिनलाई पनि केही व्यक्तिहरु मिडिया सञ्चालन गर्ने गरेका छन्। जसका कारण पत्रकारिताको विश्वनीयतामाथि बेलाबेला प्रश्न उठ्दै आएका छन्।
वि.सं २०७६ पौष १४ गते तत्कालीन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अब बार्गेनिङ पत्रकारिता बन्द हुनु पर्ने बताएका थिए। कैलाली लम्किमा रहेको लम्कि एफएमको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले बार्गेनिङ पत्रकारिताले गर्दा यथार्थ समाचार बाहिर आउन छोडेको र कपोकल्पित भ्रामक समाचार प्रकाशन हुनेगरेको बताएका थिए। यसबाट पनि के प्रष्ट हुन्छ भने बार्गेनिङ पत्रकारिताको जरो गाडीइसकेको छ र यस बारे सबै सरोकारवाला जानकार छन् । तर, मुख खोल्न चाहादैनन् र मुख खोल्नेको शक्तिको आडमा विभिन्न प्रपन्चगरी मुख टालिदिने गर्छन्। यसप्रति अब जनता आफैं सजग हुनुपर्छ।

राजनीतिक दलको गम्छा ओढेको नेपाली पत्रकारिता

मिडिया स्वतन्त्र हुनुपर्ने हो । तर नेपाली मिडिया जगत सत्ता र पार्टीको मुखपत्रको रुपमा रहेको आम सर्वसाधारणको बुझाई छ। जुन सत्यको नजिक छ। यसले गर्दा आफ्नो आस्थाको पार्टी र नेताले गरेको गलत कार्यको ढाकछोप गर्ने र विपक्षी पार्टी वा सरकारको गलत प्रचार गरिदिने कार्यले पनि स्वतन्त्र पत्रकारिता नाममा मात्र सिमित भएको देखिन्छ। अझ दलगत प्रेस संगठनहरु त देश र समाजकोलागि भन्दापनि आफ्नो पार्टिको प्रचार गर्न र नराम्रो कार्यको ढाकछोप गर्नमै व्यस्त देखिन्छन्।

बार्गेनिङ मिडियाप्रती जनता सजग हौ

मिडिया समाजको ऐना हो । समाज जस्तो छ, त्यसको तस्वीर जस्ताको त्यस्तै मिडियामा देखिनुपर्ने हो तर समाजका विकृति विरुद्ध पहरेदारी गर्ने जिम्मेवारी पाएको प्रेस आफैं ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार प्रवाह गर्ने गलत प्रवृत्तिमा संलग्न हुनु कदापि राम्रो मान्न सकिँदैन। यसप्रती जनता सजग हुनुपर्छ।

सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिहरुले बार्गेनिङ गर्ने गरेको र विज्ञापन वा पैसा नदिए जथाभावी समाचार लेख्ने गरेको भन्ने पटकपटक व्यवसायीहरुको गुनासो आएपछि २०७८ पौष २५ गते प्रेस काउन्सिल नेपालले नै वक्तव्य जारी गरेपछि ‘बार्गेनिङ पत्रकारिता’ को विषयले निकै चर्चा पाएको थियो । काउन्सिलले जारी गरेको वक्तव्यले पछिल्लो समय सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवं अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार प्रकाशन, प्रशारणको धम्की दिने प्रवृति देखिएकोप्रति सम्बन्धित सबैलाई सचेत गराएको थियो । काउन्सिलको उक्त वक्तव्यले नेपाली मिडियामा विज्ञापनका लागि ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने प्रवृत्तिको पुष्टि पनि भएको छ।

काठमाडौंको पशुपतिमा चलिरहेको कोटिहोमलाई ‘लुट्ने र लुटिनेहरुको मेला’ भन्ने मिडियाहरु पछि ‘महान कार्य’ भन्दै प्रचार प्रसारमा लागेको देखिन्छन्। यो खालको प्रवृती नेपाली पत्रकारिता जगतमा व्यापक रुपमा देखिएको छ। कुनै कम्पनी, व्यावसायि, तथा उद्योगको बारे जथाभावी समाचार लेख्छन् तर जब पैसा वा बिज्ञापन प्राप्त गर्छन् फेरि सोही उद्योगको वाहवाही गर्न लाग्छन्। यसरी कतिपय मिडियाको आम्दानीको मुख्य स्रोत नै ‘बार्गेनिङ’ बनेको छ भने बार्गेनिङ पत्रकारिताबाट मिडिया चलिरहेको देखिन्छ।

बार्गेनिङ पत्रकारिताको गलत अभ्यासले पछिल्लो समय देशका प्रतिष्ठित उद्योगी व्यावसायीहरुलाई समेत नराम्रोसङ्ग पिरोलिरहेको छ । हजारौं नागरिकलाई रोजगारी दिँदै राजस्व मार्फत राज्यको ढुकुटीमा महत्त्वपूर्ण योगदान दिने व्यावसायी लक्षित कपोकल्पित तथा भ्रमपुर्ण प्रचार गर्दै मिडियाले गर्ने गरेको ब्ल्याकमेलिङको कारण निकै हैरानी खेपिरहनुपरेको गुनासो प्रतिष्ठित उद्योगी व्यवसायीहरुको छ।

यसरी हुने बार्गेनिङ मिडियाप्रती सरोकारवालाहरु समेत जानकार छन् तर कुनै कदम चाल्न सकेको देखिदैन्। त्यसैले अब जनता आफै सजग हुनुपर्नेबेला आएको छ भने यो प्रवृत्ति रोक्न सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ।

 

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com