- (अध्यापक, नारायण नेपाल,
सुनसरी/काठमाण्डु)
नमस्कार हजुर,
व्यक्तिगत कमिसन र आम्दानीको दलदलका नेता तथा प्रशासकले जानीजानी वा अकर्मण्यले बुझाएको शैक्षिक चाबीका सञ्चालक तपाईंलाई फेरि सम्झेर यो पत्र लेखिरहेको छु । यो शैक्षिक समझको एक वैचारिक कसी मात्र हो र सुधारका लागि शुभचिन्तकको साङ्केतिक सुझावको दशी । अन्यथा नलिइएला ।
कुरैकुरा, तीन महिना मन्त्री भएकाहरूले तीन पुस्तालाई पुग्ने पाखो बारी चर्चे अरे भन्ने सुनेर हुर्केको म चप्पल लाएर संसद भवन छिर्ने र पजेरोमा घर फिर्ने कथित माननीयहरू देख्तैपनि छु । होला सम्बन्धित निकायले त्यो चामत्कारीक फट्को नियाल्दै गर्ला । यहाँको पनि राजनयिक रौनकले व्यापारिक मेल गराएको प्रष्ट छ । प्रजातन्त्रमा वैयक्तिक स्वतन्त्रता बुझेको छु, तर स्वतन्त्र हुनु भनेको वैधानिक खुकुलोपन भेट्दैमा असामाजिक उपस्थिति जनाइहाल्नुपर्छ भन्ने होइन होला कि ! यहाँनेरको कुरो के हो भने यसरी वैयक्तिक लाभको साम्राज्य खडा गर्नसक्नेले सर्वसाधारण जनको खाइनखाइ तिरेको कर तथा शुल्कको अनवरत अपचलन रोकेर थोरै मात्र पनि शुभ चेत राख्ने हो भने हाम्रोजस्तो देशको शिक्षालाई उकास्न धेरै काम गर्नसक्ने ठाउँं हुन्छ । इच्छाशक्ति र सुमानसिकताको खडेरी तर टड्कारो देखिएको अवस्था छ । आधारभूत आवश्यकता त्यसमा पनि विकासको पूर्वाधारक शिक्षाजस्तो क्षेत्रमा राज्यले नियमन गर्नैपर्छ र अहिलेकै अवस्थामा पनि स्वयम् राज्यले नै धान्न सक्छ भन्ने मान्यता जनमानसमा व्याप्त बुझिनु अनि नेत्रित्व र प्रशासक वर्गमा यसको हेक्का नरहनु विडम्बनापूर्ण छ । मेरा चिन्तनले तपाईंमा कुनै टीठ पैदा गर्नसक्तैन थाहा छ र थाहा छ तपाईं मजस्ता बिस्तारो बोल्ने र सन्तुलित विचार राख्नेको मर्मपहुँचको हुनुहुन्न । तापनि छेउछाउका सहयोगीलाई त पक्कै पनि एकपल्ट पढाउनु हुनेछ यो पत्र । बिन्ती छ, तपाईंको घरजग्गा र गाडी किन्न भातपानी मायामार्नेको पीडा छ जेजति सकिन्छ मनन गर्नुहोला । समय परिवर्तनशील छ, के थाहा यही पत्र तपाईंको चल्तीको खल्ती नियन्त्रण गर्ने आवाज अनि कार्यको सम्बाहक पनि बन्नसक्ला ! पहिलेको पत्र आधाजसो पढेर छोडेको बुझेर यति कुरा थपेर बोलेको हुँं ।
नारामा विद्यालयशिक्षा निशुल्क त भनिएकै हुन्छ । शिक्षानीतिले पनि यही व्यहोरा रटानमा राख्छ, तर यथार्थमा एकातिर भएजति साधन र सहयोग उपलब्ध गराउने अनि प्रभावकारिता शुन्यमा झार्ने, अनि अर्कातिर ललीपप यानि हावामिठाई बाँडेर स्तरीय शिक्षाको हौवा फिँजाउने चलन ज्यास्ती छ । नीतिनियमनका पहुँचवाला अनि निजी शिक्षा हाँक्ने निकाय दुवैतिर चलखेल गर्नसक्ने तपाइँको करतूत अब त धेरैले बुझ्नथालेका छन् । बुझपचाइ धेरै नहोस् क्यार ! नाटकै सही केही सुधारका कदम चाल्न अब ढिलो नगर्नुभए हुने मेरो ठम्याइ हो । खुल्ला मन र शैक्षिकमामिलाबारे विद्यार्थी र अभिभावकविशेषमा छरिएका केही जिज्ञासा यहाँ टिपोट गरिएको छ पढी, केरी, बुझी, सम्भवत: सकारात्मक तवरले रचनात्मक प्रतिकृया जनाउनुहुने आशामा छु । मैले बटुलेका जनजिज्ञासा यसप्रकार छन् :
- -के तपाईंमा सामाजिक उत्तरदायित्व भन्नेकुराको बोध छ ? छ भने कसरी छ, र छैन भने किन छैन ?
-के सरकारी शिक्षा फितलो र कम गुणस्तरको छ भन्ने भाष्यनिर्माणमा तपाईं लाग्नुभएको छैन ?
-के सरकारी विद्यालयमा कमशल पढाईले नतिजा कमजोर देखिएको र निजीमा राम्रो पढेलेखेरै स्तरीय देखिएको ठान्नुहुन्छ ?
-के परीक्षा प्रणाली चुस्त, मर्यादित र न्यायपूर्ण छ ?
-के तपाईंका विद्यार्थी लिखित परीक्षामा जानेबुझेको लेख्तैछन् कि छेउछाउको खुराक मिलिभगतमा सार्दैछन् ?
-के तपाईंले वर्षभरि दोहोरो शुल्क उठाएर विद्यार्थीलाई आफैँ लेख्न प्रस्तुति दिनसक्ने बनाउनुभएको छ ?
-के थपशुल्क उठाउने बहानामा विद्यालयमा विद्यार्थी दिनभरि राख्नाले स्वतन्त्र रूपमा शैक्षिक उन्नयन गर्ने विद्यार्थीउपर खेलवाड गर्दैहुनुहुन्न ?
-के विद्यार्थीले तिर्ने नियमित शुल्कका साथको अतिरिक्त कक्षाशुल्क बराबरको सुविधा विद्यार्थीले अनुभूति गर्नपाएका छन् ?
-के कम बोल्ने अनि बोल्दैनबोल्ने अभिभावकसित जति पनि छ लाग्छ र खुलेआम लुट्नै मात्र मनहुन्छ ?
-के तपाईं अकूत सम्पत्ति जोहोगर्ने मनसायको हो भने अभिभावक लुट्नुको सट्टा अन्य यथोचित व्यवशायमा लाग्नै नसक्ने हुनुहुन्छ र ?
-के गाडी राख्नुहुने तपाईंका गाडीचालक बालसुलभ व्यवहार गर्छन् ? गाडीमा गीत कस्तो बजाउँछन् ? कुन गतिमा गाडी चलाउँछन् ?
-के टिचरको योग्यता र सिपको कदर गर्ने गर्नुभएको छ ? टिचरको पनि परिवार छ जीविकोपार्जन उचित चलोस् ठान्नुहुन्छ ?
-के वर्षैपिच्छे सबै शीर्षकमा शुल्क बढाएअनुसार पठनपाठन, खाना, यातायात आदिको स्तर बढाउने कुरामा ध्यान पुर्याउन नपर्ने हो र ?
-के आफू जथाभावी गर्दैजाँदा तपाईंमार्फत् रहने विद्यार्थीले कस्तो नैतिकता र स्वाभिमानको मन्त्र हाशिल गर्लान् सोच्नुभएको छ ?
-के समयसापेक्ष समाजसुधारको सम्बाहक भै एक्कादुई काम गर्नसके प्रमुखत: शिक्षाव्यवशायीले गर्नसक्छन् ठानी उदाहरणीय बन्न मनगर्नुहुन्छ ?
भएगरेका समुचित कार्यकदमको भने प्रसंसा गर्दछु र सलाम पनि भन्छु ।
शुभचिन्तामा,
उही फलानो अभिभावक !
प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार
प्रतिक्रिया