एजेन्सी । छिमेकी देश भारतको हरियाणा प्रान्तस्थित सिरसा जिल्लामा बस्ने पलविन्दर सिंह नामका किसानले पालेको अनमोल नामको भैंसीको मूल्य थाहा पाउनुभयो भने पत्याउनै गाह्रो पर्छ ?

मुर्रा जातको यो भैंसी २३ करोड भारु अर्थात् झण्डै ३७ करोड नेपाली रुपैयाँमा खरिद गर्न मानिसहरू तयार भएका छन् । तर, पलविन्दर भने अनमोललाई बेच्न तयार छैनन् ।

यहाँ कुरा केवल एउटा भैंसीको मात्र होइन । कुनै पनि प्रजातिका जीवमा जब कुनै एउटा जीव वा उसका कोही उपप्रजाति अब्बल हुन्छन् भन्ने त्यसको माग उच्च रहन्छ । मुर्रा भैंसीको हकमा पनि यही लागू हुन्छ ।

 

आम रुपमा मुर्रा भैंसीको मूल्य एक डेढ लाखसम्म पर्न सक्दछ । तर, अनमोल नामको उक्त मुर्रा भैंसीले चाहिं त्यसको सयौं गुणा धेरै मूल्य पाएको छ । यसको अर्थ अनमोलमा अवश्य पनि केही त यस्तो विशेष होला जसले गर्दा त्यसको मूल्य करोडौंमा छ । आखिर यस विषयमा विज्ञान के भन्छ ?

किन मुर्राको माग र मूल्य उच्च छ ?

राम्रोसँग पालन पोषण गरिने उन्नत जातको मुर्रा भैंसीले दैनिक २० देखि २५ लिटरसम्म दूध दिन्छ । जसमा साढे ६ देखि ७ प्रतिशतसम्म चिल्लो हुन्छ । धेरै फ्याट, अर्थात् धेरै घिउ । यसका अलावा मुर्रा भैंसीले लामो समयसम्म दूध दिइरहन्छ । अर्थात् एक बेतमा यसले ३ सय देखि ३२० दिनसम्म दूध दिन्छ । दूधको गुणस्तर पनि उच्च हुन्छ, जसमा प्रोटिन, क्याल्सियम तथा फस्फोरस धेरै पाइन्छ ।

भैंसीबाट धेरै दूध उत्पादनको अर्थ अन्य दुग्धजन्य पदार्थ बनाउने सम्भावना पनि धेरै हुनु हो, जसबाट आर्थिक फाइदा उच्च हुन्छ । मुर्रा जातको भैंसीको पालनपोषण पनि अन्य जातका भैंसीको तुलनामा सहज छ । साथै यसको औसत उमेर १५ देखि २० वर्ष हुन्छ, जुन अन्य भैंसीको तुलनामा धेरै हो ।

मुर्रा भैंसीको आनुवंशिक संरचना पनि निकै मजबुत हुन्छ । जसका कारण यसका बच्चा पनि स्वस्थ तथा मजबुत जन्मिन्छन् । राम्रो जेनेटिक मेकअपका कारण यो भैंसीको प्रजननदर पनि उच्च हुन्छ । मुर्रा भैंसीले एकपटक बच्चा जन्माएको ४०० देखि ४५० दिनभित्रमा अर्को बच्चा जन्माउँछ । आम भैंसीको तुलनामा मुर्रा भैंसीको रोग प्रतिरोधी क्षमता पनि उच्च हुन्छ ।

भारतमा मुर्रा जातका भैंसीको मूल्य उच्च हुनुमा सांस्कृतिक कारण पनि छ । भारतको पन्जाब, हरियाणा तथा उत्तर प्रदेशमा मुर्रा भैंसी पाल्नुलाई सांस्कृतिक तथा सामाजिक रुपले प्रभावशाली मानिन्छ । मुर्रा भैंसी पाल्ने व्यक्तिलाई त्यहाँ धनीमानी मान्ने चलन छ ।

स्मरण रहोस् मुर्रा भैंसी नेपाल, भारत, चीन, श्रीलंका, लाओस, भियतनाम, मलेसिया, इण्डोनेसिया अजरबौन, ब्राजिल, कोलम्बिया, ग्वाटेमाला तथा भेनेजुयला लगायतका देशमा पाइन्छ ।

 

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com