काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा सरकारी पक्ष, जाहेरवालाका वकिल, र प्रतिवादीका वकिलबीच थुनछेक बहसपछि जवाफी बहस सम्पन्न भएको हो। अदालत स्रोतका अनुसार यस प्रकरणमा आदेश आजै आउनेछ।
अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा सामान्य तारेखमा छोड्ने निर्णय गर्नेछ। लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका थिए। यस्तै, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सुप्रिम सहकारी प्रकरणमा लामिछानेमाथि ठगीका आरोप लागेका छन्। अदालतको आदेशपछि प्रकरणको आगामी प्रक्रिया निर्धारण हुनेछ।
प्रकाशित मिति: १३ माघ २०८१, आइतबार












प्रतिक्रिया