काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार लामिछानेले बैंक ग्यारेन्टीमार्फत एक करोड रुपैयाँ धरौटी बुझाएका हुन्।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा रविलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग गरेको थियो। अदालतको आदेश अनुसार रविले आइतबार नै बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन्।
आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार धरौटी माग गर्ने निर्णय सुनाएको थियो।
अदालतले उपलब्ध प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्ने कुनै ठोस आधार नदेखिएको भन्दै धरौटी माग गरिएको आदेशमा उल्लेख छ।
आदेशमा भनिएको छ, “मिसिलमा समावेश प्रमाणका आधारमा यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने कुनै ठोस आधार नदेखिँदा, प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम एक करोड नगद धरौटी वा सर्तरहित बैंक ग्यारेन्टी बुझाउनू। यो रकम बुझाउन नसके कानुनअनुसार थुनुवा पुर्जी जारी गरी स्थानीय कारागारमा पठाउनू।”
लामिछानेविरुद्ध माघ ६ गते सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएको थियो। माघ ९ गते अदालतमा आफैं उपस्थित भएका उनीमाथि तीन दिनसम्म थुनछेक बहस भएको थियो।
प्रकाशित मिति: १३ माघ २०८१, आइतबार












प्रतिक्रिया