काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विगतका संघर्षपूर्ण क्षणहरूको स्मरण गर्दै आफू कुनै समय घरज्वाइँ बसेको खुलासा गरेका छन्।
शनिबार आयोजित एक समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवनका कठिन परिस्थितिहरू साझा गरेका हुन्। श्रीमती राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’ को लोकार्पण कार्यक्रममा उनले विगतका संघर्षशील अनुभवहरू व्यक्त गरे।
उनले विवाहको समयमा आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउँदै भने, “त्यस बेला एक जना श्रीमती पाल्ने पनि हैसियत थिएन। म ठूलो धाक लगाउने खालको व्यक्ति थिइनँ। सत्य कुरा भन्न रुचाउने भएकाले त्यो बेला पनि खुलेरै भनेको थिएँ।”
प्रधानमन्त्री ओलीका अनुसार, गृहमन्त्री भएपछिको बसोबास र मन्त्री पदबाट हटेपछि आइपरेका कठिनाइहरू विशेष रूपमा स्मरणीय छन्। उनले भने, “गृहमन्त्री भएपछि बसेको कोठा छाड्नुपर्यो। मन्त्री निवासमा बसियो, तर पदबाट हटेपछि काठमाडौंमा उचित डेरा खोज्न मुस्किल पर्यो। त्यसै क्रममा सालो ज्ञानेन्द्र शाक्यले अस्थायी रूपमा आफ्नै घरमा बस्न प्रस्ताव गरे, र केही दिन त्यहीँ बसें।”
त्यस क्रममा धेरैले उनको बसोबासबारे जिज्ञासा राखे। उनले भने, “धेरै जनाले कहाँ बस्नुभएको छ भनेर सोध्न थाले। मैले खुलेरै भनिदिएँ— घरज्वाइँ बसेको छु। त्यसपछि कसैले प्रश्न गर्न पनि छोडे। कतिपयलाई घरज्वाइँ हुनु अपमानजनक लाग्न सक्छ, तर मलाई त्यस्तो महसुस कहिल्यै भएन। मैले पहिले नै ‘पाल्न सक्छु’ भनेको भए पो लज्जाबोध हुन्थ्यो !”
प्रधानमन्त्री ओलीले आफ्नो विगतको जीवन सङ्घर्षलाई सम्झँदै गाईभैंसी चराउने, गोरु जोत्ने र खेतमा खट्ने दिनहरूको स्मरण पनि गरे। “म मेहनत गरेर अगाडि बढेको व्यक्ति हुँ। कठिन परिस्थितिबाट गुज्रेर यहाँसम्म आइपुगेको छु,” उनले भने।
यो अभिव्यक्तिले प्रधानमन्त्री ओलीको संघर्षशील जीवनयात्रा र यथार्थपरक स्वभावलाई झल्काउने देखिन्छ।
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार













प्रतिक्रिया