काठमाडौं – नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल र बैंकका अध्यक्ष दिलीप ढुंगाना विरुद्ध गम्भीर अनियमितता र भ्रष्टाचारको उजुरी परेको छ।

बैंकको सीईओ र अध्यक्ष कै पदको दुरुपयोग गरी ठूला कर्जा प्रकरणमा कमिसन लिएको, लिलामी प्रक्रियामा अनियमितता गरेको तथा बैंकको निक्षेप जोखिममा पारेको आरोप सहित नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको हो।

ठूला कर्जा र कमिसनको जालो

उजुरीमा सीईओ खनाल र अध्यक्ष ढुंगानाले बैंकका साना-ठूला सबै कर्जा योजनाहरूमा मोटो रकम कमिसन लिने गरेका छन्। कमिसनको खेलमा धितो प्रक्रिया नै नपुगेका ऋणीहरुलाई पैसा बाँढेर सर्वसाधारणको निक्षेपलाई खतरामा पार्ने कार्य गरेको दाबी गरिएको छ। उनीहरूले कर्जा रकमको ५ प्रतिशतसम्म कमिसन लिएर मात्रै कर्जा प्रवाह गर्ने गरेको तथा बैंकका विभागीय प्रमुख, सीईओ र अध्यक्ष मिलेर ऋणीहरूसँग मिलेमतो गर्दै ठूलो रकम अनियमित तरिकाले निकासा गर्ने गरेको उजुरीकर्ताको आरोप छ।

यसबाहेक, भूगर्भ सिमेन्ट जस्ता ठूला उद्योगलाई प्रवाह गरिएका कर्जाहरूलाई पुनर्तालिकीकरण गरी खराब कर्जा नदेखाउने र त्यसबाट व्यक्तिगत फाइदा लिने प्रयास गरिएको आरोप छ।

बैंकको सामाजिक उत्तरदायित्व रकमको दुरुपयोग

सीईओ खनाल र अध्यक्ष ढुंगानाले बैंकको सामाजिक उत्तरदायित्व कोषबाट करोडौं रुपैयाँ आफ्ना आफन्त, नातेदार र राजनीतिक रूपमा आवद्ध व्यक्तिहरूलाई वितरण गरेको आरोपसमेत उजुरीमा उल्लेख छ। सामाजिक कार्यका नाममा रकमको अनुचित रूपमा दुरुपयोग गर्दै बैंकका स्रोतसाधन व्यक्तिगत लाभका लागि प्रयोग गरिएको दाबी गरिएको छ।

लिलामी प्रक्रियामा अनियमितता

उनीहरूमाथि बैंकका विभिन्न लिलामी प्रक्रियामा समेत अनियमितता गरेको आरोप छ। नियम मिचेर कम मूल्यमा आफन्तका नाममा लिलामी दिने, पारदर्शिता कायम नगर्ने, तथा बैंकको सम्पत्ति कम मूल्यमा बेच्ने प्रयास गरिएको उजुरीमा दाबी गरिएको छ। साथै, बैंकका भ्यालुएटरहरूसँग समेत कमिसन लिने गरेको उजुरीमा उल्लेख छ।

राष्ट्र बैंकले माग्यो प्रतिवेदन, कारबाही प्रक्रिया अघि बढ्ने संकेत

नेपाल राष्ट्र बैंकले प्रारम्भिक रूपमा उजुरी लिन अस्वीकार गरेको भए पनि, सो विषय मिडियामा सार्वजनिक भएपछि इमेलमार्फत उजुरी दर्ता गरिएको र हाल बैंकसँग स्पष्टीकरण मागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। राष्ट्र बैंकको सुपरीवेक्षण विभागले छानबिन अघि बढाइसकेको र दोषी प्रमाणित भएमा कडा कारबाही हुने संकेत दिएको छ।

तर, सीईओ खनाल र अध्यक्ष ढुंगानाले आफूहरूमाथि लगाइएका सबै आरोप निराधार रहेको दाबी गर्दै आएका छन्।

अब राष्ट्र बैंकले गर्ने निर्णय र छानबिनको निष्कर्ष बैंकिङ क्षेत्रको पारदर्शिता र विश्वसनीयताको लागि महत्वपूर्ण हुने देखिन्छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com