काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला स्वस्थ राख्न सही जीवनशैली अपनाउन सबैलाई आग्रह गरेका छन्।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले भने, “सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षण, शारीरिक सक्रियता, पर्याप्त पानी सेवन र अनुशासित जीवनशैली नै मिर्गौलाको सुरक्षा गर्ने प्रभावकारी उपाय हुन्। मिर्गौलाको स्वास्थ्य हाम्रो आफ्नै हातमा छ, त्यसैले सचेत बनौं र मिर्गौलाको रक्षा गरौं।”
प्रधानमन्त्री ओलीले मिर्गौलाको महत्त्व र संवेदनशीलता आफ्नो व्यक्तिगत अनुभवबाट गहिरोसँग बुझेको उल्लेख गर्दै भने, “जब मिर्गौलाजस्तो जीवनका लागि अपरिहार्य अङ्ग कमजोर हुन्छ, तब पूरा जीवन नै कठिनाइले भरिन्छ। त्यसैले समयमै सचेत हुन आवश्यक छ।”
आज विश्व मिर्गौला दिवस रहेको उल्लेख गर्दै उनले मिर्गौलासम्बन्धी उपचारमा सरकारको प्रतिबद्धता दोहोर्याए। उनले सरकारद्वारा निःशुल्क डायलासिस सेवा उपलब्ध गराइएको स्मरण गराउँदै नागरिकलाई स्वास्थ्यप्रति जिम्मेवार बन्न आह्वान गरे।
प्रधानमन्त्री ओली आफैं मिर्गौलापीडित हुन् र उनले दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन्। व्यक्तिगत जीवनमा यस रोगसँग जुध्दा भोगेका कठिनाइहरूलाई उनले धेरैपटक सार्वजनिक रूपमै बाँडेका छन्। उनको सन्देश सबैका लागि प्रेरणादायी छ कि सही जीवनशैली अपनाएर मिर्गौलालाई जोगाउन सकिन्छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार
प्रतिक्रिया