काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री बालेन शाहबीच भविष्यमा राजनीतिक गठबन्धन हुन सक्ने टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै अर्यालले विभिन्न राजनीतिक दलमा रहेका दक्षिणपन्थी शक्तिहरू अन्ततः एउटै राजनीतिक कित्तामा उभिन सक्ने बताएका हुन्।
उनले एमालेभित्र ओलीका कट्टर समर्थकहरू कुनै न कुनै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुन सक्ने दाबीसमेत गरेका छन्। हालै सार्वजनिक भएको रास्वपाका सांसदहरूको भनिएको अडियोले आफ्नो विश्लेषणलाई पुष्टि गरेको उनको जिकिर छ।
अर्यालका अनुसार सार्वजनिक अडियोमा रास्वपाका नेताहरूले एमाले अध्यक्ष ओलीलाई पार्टीभित्र अझ बलियो र आक्रामक देख्न चाहेको संकेत गरेका छन्। त्यस्तै, चुनावपछि ओलीको आलोचक बनेका विष्णु पौडेलको सुर्खेतमा भएको गिरफ्तारी, त्यसपछिको नाटकीय रिहाइ र उनको राजनीतिक अभिव्यक्तिमा आएको परिवर्तनलाई पनि उनले सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन्।
पौडेलको रिहाइपछि उनी अचानक ओलीको समर्थनमा उभिनु र एमालेमा ओलीलाई बलियो बनाउन रास्वपा तयार देखिनु संयोग मात्र नभएको अर्यालको टिप्पणी छ। ओलीका पछिल्ला अभिव्यक्ति र राजनीतिक आक्रामकता पनि यसै सन्दर्भमा बुझ्नुपर्ने उनको दाबी छ।
उनले अहिले कम्युनिष्ट वा पुँजीवादी दलमा रहेका भए पनि विभिन्न दक्षिणपन्थी राजनीतिक शक्तिहरूको अन्तिम गन्तव्य एउटै हुन सक्ने तर्क गरेका छन्। इतिहासमा कम्युनिष्ट पार्टीका महासचिव केशरजंग अचानक राजा महेन्द्रको पक्षमा उभिएको उदाहरण दिँदै उनले भविष्यमा ओली र बालेन एउटै राजनीतिक मोर्चामा देखिए आश्चर्य मान्नुपर्ने अवस्था नआउने बताएका छन्।
‘पुँजीवादले ओलीलाई त्यतिखेरसम्म कम्युनिष्ट बनाइरहन्छ, जतिखेरसम्म नेपालमा कम्युनिष्टहरू सकिँदैनन्,’ अर्यालले फेसबुकमा लेखेका छन्।
नेपालमा कम्युनिष्ट शक्ति कमजोर हुँदै गएपछि बदलिँदो राजनीतिक परिस्थिति र वस्तुगत अवस्थाको व्याख्या गर्दै ओली–बालेन गठबन्धन बन्न सक्ने उनको विश्लेषण छ। यसअघि राजेन्द्र लिङ्देन, कमल थापा र केपी शर्मा ओलीबीच गठबन्धन बनेको उदाहरण प्रस्तुत गर्दै उनले राजनीतिक स्वार्थ र परिस्थितिअनुसार दलहरूबीच समीकरण फेरिन सक्ने संकेत गरेका छन्।
यद्यपि, ओली र बालेनबीच गठबन्धन हुने विषयमा कुनै औपचारिक सहमति वा घोषणा सार्वजनिक भएको छैन। अर्यालको भनाइ उनको व्यक्तिगत राजनीतिक विश्लेषणका रूपमा आएको हो।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया