काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई राष्ट्रको पहिलो प्राथमिकता बनाउन निर्देश दिएका छन्। उनले उत्पादन, उत्पादकत्व र उद्यमशीलता अभिवृद्धि गरी जनताको आर्थिक स्तर उकास्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगका उपाध्यक्षसहित पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका कार्यहरू लगभग सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै अब सीप विकास, उद्यमशीलता प्रवर्द्धन, रोजगारीको अवसर सिर्जना तथा कृषि क्षेत्रमा ठूला उत्पादन र लगानी विस्तार गर्नु आवश्यक रहेको बताए।
“जनतालाई सबल बनाउनका लागि सहयोग मात्रै पर्याप्त हुँदैन, उनीहरूलाई उत्पादनशील र आत्मनिर्भर बनाउने बाटो रोज्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “हाम्रो लक्ष्य नागरिकलाई कर्मशील बनाउने र गरिबी हटाउने हुनुपर्छ। मौलिक हकहरूको उचित उपयोग गर्न पाउने वातावरण तयार गर्न जरुरी छ। मन्त्रालयहरूले उत्पादन र उत्पादकत्व वृद्धिका लागि ठोस योजना ल्याउनुपर्छ, जसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ।”
प्रधानमन्त्रीका अनुसार राष्ट्रिय गौरवका आयोजना प्रभावकारी रूपमा अनुगमन र मूल्याङ्कन गर्दै, उद्यमशीलताको प्रवर्द्धन गर्दै तथा जनताको सेवा प्रवाह एवं सुशासन सुधार गर्ने कार्यलाई उच्च प्राथमिकता दिनुपर्नेछ। प्रधानमन्त्री सचिवालयले पनि यस विषयमा विशेष ध्यान दिनुपर्ने जनाइएको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार
प्रतिक्रिया