काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको तलब सुविधा दिन चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
बिहीबार मन्त्रालयमा नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक प्रतिनिधिहरूसँगको वार्तामा मन्त्री पौडेलले यो निर्देशन दिएका हुन् ।
गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौँ तहअनुसार मासिक ४८ हजार ७ सय रुपैयाँ बराबरको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनरत छन्।
मन्त्री पौडेलले आयोगको निर्णय कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजलाई सरकारले कुनै सुविधा नदिने चेतावनी समेत दिएका छन्।
उनले चिकित्सकहरूको आन्दोलनप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै समस्याको समाधान संवाद र समझदारीबाट खोजिने बताएका छन्। साथै, उनले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिएर उपचार सेवामा फर्कन आग्रह पनि गरेका छन्।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया