काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्धको मुद्दा राजनीतिक प्रतिशोधका आधारमा उठाइएको आरोप लगाएकी छन्। कास्कीको रुपा गाउँपालिकामा आयोजित कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले उक्त मुद्दामा कुनै कानुनी बल नभएको दाबी गरिन्।

“हामी नेतृत्वका गल्ती लुकाउने पुस्ता होइनौं,” गौतमले भनिन्, “म सचेत नागरिक र कानुन अध्ययन गरिरहेकी एक विद्यार्थीको नाताले भन्न चाहन्छु— रवि लामिछानेमाथि लगाइएको मुद्दा टालटुलमा आधारित छ, त्यो मुद्दामा कुनै दम छैन।”

advertisement

उनले न्यायालयप्रति भरोसा व्यक्त गर्दै लामिछानेले अवश्य न्याय पाउने विश्वाससमेत व्यक्त गरिन्। “रवि लामिछाने नेपाली जनताले विश्वास र आशा राखेको पात्र हुन्, न्यायालयले उहाँलाई पक्कै पनि न्याय दिनेछ,” उनले भनिन्।

सांसद गौतमले वर्तमान सरकारले रास्वपाले उठाएका मुद्दाहरू दबाउने प्रयास गरिरहेको आरोप पनि लगाइन्। “पहिला भ्रष्टाचारका कुरा लुकाइन्थ्यो, अहिले भने रास्वपा संसदको चौथो ठूलो शक्ति बनेपछि यी सबै कुरा सतहमा आएका छन्,” उनले भनिन्।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १४ अर्ब रुपैयाँको भ्रष्टाचार, वाइडबडी प्रकरण, गिरिबन्धु कपडा उद्योग सम्बन्धी घोटाला र भुटानी शरणार्थी प्रकरणजस्ता विषयमा रास्वपाको स्पष्ट भूमिका रहेको जनाइन्। तर, यिनै मुद्दाहरू अहिले सरकारबाट दबाउन खोजिएको भन्दै आपत्ति जनाइन्।

“हिजो सुन्न नपाइएका यस्ता घोटालाहरू अहिले सतहमा आएका छन्। संसदीय छानबिन समितिले नजिर बसाइसकेको छ, तर त्यसलाई छोप्ने प्रयास हुँदैछ,” गौतमले भनिन्।

उनको अनुसार सरकार गठन भएको दस महिना बितिसक्दा पनि निरन्तर विवाद र घोटालामै केन्द्रित देखिएको छ। “देशभर निराशाको अवस्था छ। सरकार अझै पनि काम गर्न नसकेको स्थिति छ, अब त यो सरकार सच्चिनै पर्छ,” उनले जोड दिइन्।

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com