काठमाडौं । लगातारको वर्षाले देशका अधिकांश विमानस्थलमा उडान सेवा प्रभावित बनेको छ। कम दृश्यता (भिजिबिलिटी) का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा अवरोध आएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आज बिहानैदेखि खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडानतर्फ जजिरा एयरको विमान भारतको बनारस डाइभर्ट गरिएको छ। यस्तै, आन्तरिकतर्फ बुद्ध एयरको माउन्टेन फ्लाइट पनि गन्तव्य परिवर्तन गरिएको छ।

advertisement

रामेछापबाट लुक्लातर्फ उड्ने समिट एयर र तारा एयरका तीनवटा उडान पनि लुक्लाको प्रतिकूल मौसमका कारण डाइभर्ट भएका छन्। प्रवक्ता शेर्पाका अनुसार वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थल र बाहिरी क्षेत्रका क्षेत्रीय विमानस्थलहरूबाट उडान सामान्य अवस्थामा फर्किन थालेका छन्। तर, दुर्गम क्षेत्रका केही विमानस्थलहरूमा उडान अझै अवरुद्ध छन्। नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क गन्तव्यको उडानसमेत डाइभर्ट भएको छ।

देशभर मौसम अस्थिर

आज बिहानैदेखि काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको थियो भने हाल मौसम केही खुल्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसम अस्थिर बनेको हो।

महाशाखाले आज दिउँसोसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने, कोशी र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ। साथै, हिमाली तथा उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com