काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्डको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।
उनले प्रचण्डले नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिनुको सट्टा आलोचनामात्रै केन्द्रित अभिव्यक्ति दिएको उल्लेख गरे।
बर्तौलाले प्रचण्डले पटकपटक सरकारलाई ‘दलाल’ र ‘विचौलिया’को सरकार भनेर व्याख्या गर्ने गरेकोमा पनि विरोध जनाए।
“संविधानबमोजिम यो सरकार संसदबाट निर्वाचित भएको हो,” उनले भने, “तर संसदले बनाएको सरकारलाई निरन्तर ‘विचौलिया’, ‘दलाल’, ‘माफिया’जस्ता असंसदीय र अराजनीतिक शब्दावली प्रयोग गरेर आरोप लगाइनु दुःखद छ।”
पूर्वप्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेताबाट यस्ता अभिव्यक्ति आउनु अत्यन्तै खेदजनक भएको उनको टिप्पणी थियो।
“यस प्रकारको पूर्वाग्रही र कुण्ठित सोचबाट प्रेरित अभिव्यक्तिहरू संसदीय मर्यादाविपरीत छन्। मर्यादाको उल्लंघन गरिएको छ, त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,” उनले भने।
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार













प्रतिक्रिया