काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढररिको नभई विकासको ढाँचा, गति र संस्कृति परिवर्तन गर्ने नयाँ सोचसहितको भएको बताएका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विकास निर्माणको सुस्त गतिको प्रवृत्तिलाई सुधार नगरी अघि बढ्न नसकिने बताए। “हामीसँग सीमित स्रोत छन्, त्यसलाई कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ,” उनले भने।

advertisement

उनका अनुसार प्रस्तुत नीति तथा कार्यक्रमले विगतका कमजोरी सुधार गर्दै विकास प्रक्रियामा रूपान्तरण ल्याउने लक्ष्य लिएको छ। “विकासको ढाँचा, गति र कार्य संस्कृति बदल्ने प्रस्ताव नै नयाँ हो। यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि नयाँ हो,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले थालिएका आयोजना बीचैमा रोकिने स्थिति अब नआओस् भन्ने नीति अनुरूप राष्ट्रिय गौरवका आयोजनाको पुनरावलोकन गरिने र चालु आयोजना आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको जानकारी दिए।

उनले नयाँ पूर्वाधार परियोजनाहरू बनाउँदा सम्भाव्यता, जोखिम, प्रतिफल, नगद प्रवाह, कानुनी सुरक्षा र लगानीकर्ताको चासोलाई समेटेर ‘बिजनेस प्लान’ तयार गर्ने नीति पहिलोपटक अघि सारिएको बताए।

प्रधानमन्त्रीका अनुसार सरकारले सञ्चालन गर्ने कार्यक्रमहरू उत्पादन, उत्पादकत्व, रोजगारी र उद्यमशीलताको प्रवर्द्धनमा केन्द्रित हुनेछन्। त्यसैगरी संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यमार्फत कृषि क्षेत्रको व्यावसायिकीकरण र पूर्वाधार निर्माण अघि बढाइनेछ।

शिक्षा क्षेत्रमा ‘राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत नयाँ मार्गचित्र तयार गरिने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय तथा जीवनोपयोगी बनाउने नीति लिइएको उनले बताए। साथै, सबै सार्वजनिक अस्पताललाई अनलाइन सेवामा जोड्ने र सबै स्वास्थ्य सहायता तथा सहुलियत कार्यक्रमलाई एकीकृत स्वास्थ्य बीमा प्रणालीमा समेट्ने नीति अपनाइने जानकारी प्रधानमन्त्रीले दिए।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com