काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पर्यटन क्षेत्रलाई विविधिकरण गर्दै हिमाली पर्यटनको विकल्पमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सांसद कार्कीले हिमाली क्षेत्रका हिमालहरू पग्लिँदै गएकाले केवल हिमालमा निर्भर रहने प्रवृत्तिबाट बाहिर निस्कनु पर्ने धारणा राखे।

advertisement

“हामीले पर्यटनलाई हिमालमा मात्र केन्द्रित गरेका छौँ। तर, चाँदीजस्ता टल्किने ती हिमालहरू अब फलामजस्ता देखिन थालेका छन्। यस्तो अवस्थामा सांस्कृतिक र धार्मिक पर्यटनलाई अघि बढाउनुपर्छ। रामजानकी मन्दिरजस्ता ऐतिहासिक धार्मिक स्थलहरू प्रचार गरी भारतबाट पर्यटक भित्र्याउने रणनीति आवश्यक छ,” उनले भने।

सांसद कार्कीले बजेटलाई अर्थशास्त्रसँग मात्र जोडेर हेर्नु भन्दा पनि जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयका रूपमा लिनुपर्नेमा जोड दिए। उनले कृषि, रोजगारी, ऊर्जा, सूचना प्रविधि (आईटी) र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बनाइनु पर्ने धारणा राखे।

उनले पहाडी क्षेत्रमा विकासका प्रयास भए पनि जनसंख्या घटिरहेको, बाँदर आतंकका कारण बसोबास गर्न कठिन भइरहेको, र खर्चअनुसार प्रतिफल प्राप्त नभएको जस्ता चुनौती औँल्याउँदै विकासको वास्तविक प्रभावमाथि गम्भीर छलफल आवश्यक भएको बताए।

अन्त्यमा उनले आगामी आर्थिक वर्षको बजेटमा कृषिमा विनियोजन दोब्बर पार्न, आईटी, हरित ऊर्जा र पर्यटनमा आधारित उद्योगहरूलाई कर छुटको व्यवस्था गर्न, मूल्यांकन प्रणाली सुदृढ गर्न, करदातामैत्री सेवा प्रणाली विकास गर्न तथा बजेटलाई व्यावहारिक र कार्यान्वयनयोग्य दस्तावेजका रूपमा प्रस्तुत गर्न आग्रह गरे।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com