काठमाडौं । भारतले पाकिस्तान सहभागी हुने कुनै पनि एसियाली क्रिकेट प्रतियोगितामा भाग नलिने निर्णय गरेको छ।
भारत–पाकिस्तानबीचको बढ्दो कूटनीतिक तनावका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले एसियाली क्रिकेट परिषद् (एसीसी) अन्तर्गत आयोजना हुने प्रतियोगिताबाट टाढा रहने निर्णय गरेको हो।
निकट भविष्यमा एसिसीले दुई महत्वपूर्ण प्रतियोगिता आयोजना गर्न लागेको छ — आगामी महिना श्रीलंकामा हुने महिला इमर्जिङ टिम एसिया कप र सेप्टेम्बरमा तय भएको पुरुष एसिया कप। बीसीसीआईको निर्णयपछि विशेषगरी भारतमै आयोजना हुने भनिएको सेप्टेम्बरको पुरुष एसिया कपको भविष्य अन्योलमा परेको छ।
इन्डियन एक्सप्रेसले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै लेखेको छ, “यो विषय भारतको राष्ट्रिय भावना र सुरक्षासँग जोडिएको छ। सोही कारण हामीले एसीसीलाई आफ्नो निर्णय स्पष्ट रूपमा जानकारी गराइसकेका छौँ।”
हाल एसियाली क्रिकेट परिषद्को अध्यक्षता पाकिस्तानका खेलमन्त्री समेत रहेका मोहसिन नकवीले गरिरहेका छन्।
बीसीसीआईको यो कदमले क्षेत्रीय क्रिकेट राजनीतिमा नयाँ तरंग ल्याएको छ भने एसीसीले आगामी प्रतियोगिताका लागि नयाँ रणनीति अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया