नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या बढेर २,३९० पुगेको छ। तीमध्ये सबैभन्दा धेरै ७२७ केस केरलामा देखिएका छन्। सक्रिय सङ्क्रमणको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा रहेको छ, जहाँ शुक्रबार मात्र ८४ नयाँ केस रिपोर्ट भएपछि कुल सङ्क्रमित संख्या ६८१ पुगेको हो। देशभरका ६० प्रतिशत सक्रिय केसहरू यिनै दुई राज्यमा छन्।

यसैबीच, कर्नाटकको मैसूरमा शुक्रबार ६३ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। यो कर्नाटकमा भएको तेस्रो मृत्यु हो भने भारतभर मृतक संख्या अहिले १६ पुगेको छ।

advertisement

कोरोना संक्रमणका केसहरू फेरि बढ्न थालेका बेला केही राज्यहरूमा लामो समयपछि नयाँ केसहरू फेला परेका छन्। मेघालयमा करिब सात महिनापछि २ जना नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी, मिजोरममा पनि २ जनामा संक्रमण पुष्टि भएको छ। मिजोरममा पछिल्लो पटक अक्टोबर २०२४ मा कोभिड-१९ केस रिपोर्ट भएको थियो।

देशका विभिन्न भागमा कोरोना संक्रमण विस्तार भइरहेका बेला चार नयाँ भेरियन्टहरू पनि फेला परेका छन्। दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएको जीन अनुक्रमणमा एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ नामका भेरियन्टहरू पत्ता लागेका हुन्। अन्य राज्यहरूबाट पनि नमूना संकलन गरी भेरियन्ट पहिचानका लागि परीक्षण भइरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

यद्यपि, चिकित्सकहरूका अनुसार हाल देखिएका केसहरू सामान्य प्रकृतिका छन् र अस्पताल भर्ना वा अक्सिजनको आवश्यकताजस्ता गम्भीर लक्षणहरू देखिएको छैन। त्यसैले अत्याधिक चिन्ता लिनुपर्ने अवस्था नरहे पनि सावधानी अपनाउन आवश्यक छ।

विश्व स्वास्थ्य संगठन (WHO) ले पनि हाल देखिएका नयाँ भेरियन्टहरूलाई ‘निगरानीमा रहेका भेरियन्ट’ को रूपमा वर्गीकृत गरेको छ। चीन लगायत अन्य एसियाली देशहरूमा पनि यस्तै भेरियन्टहरू देखिन थालेको बताइएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com