काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले भिजिट भिसाको नाममा रकम बुझाएको करिब १२ सय प्रमाण आफूहरूकहाँ पुगेको दाबी गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अधिकांश प्रमाणहरूमा नगद रकम बुझाइएको देखिएको बताए थिए।
सांसद हरि ढकालका अनुसार आफू, सांसदहरू सोविता गौतम, मनिष झा र शिशिर खनालले सामाजिक सञ्जालमार्फत सार्वजनिकरूपमा प्रमाण माग्दा १२ सयभन्दा बढी प्रमाण प्राप्त भएको हो।
सांसद ढकालले भने, “भिजिट भिसामा विदेश जानुअघि एयरपोर्टमा बुझाउने एउटा निश्चित रकम रहेछ। हामीसँग दलालहरूलाई बुझाएको प्रमाणहरू आएका छन्। कतिपय क्यासमा, कतिपय बैंक ट्रान्जेक्सनमार्फत रकम बुझाइएको छ। एयरपोर्टमा त प्रायः नगदमै लेनदेन भएको देखिएको छ। त्यसैले हामीले उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका हौं। लाखौं युवाले एजेन्टमार्फत बुझाएको पैसा कहाँ पुग्छ भनेर खोज्न थाल्दा अन्त्यसम्म पुग्न सकिन्छ भन्ने विश्वास छ।”
उनले भिजिट भिसाको बहानामा महिलाहरूलाई दुबई हुँदै कुवेतसम्म पुर्याइएको सूचना पनि आफूहरूकहाँ आएको बताए।
सांसद ढकालले २०६४ सालपछि गृहमन्त्री भएका सबै व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै हालका गृहमन्त्रीले अनुसन्धान प्रभावित पार्न सक्ने भएकाले राजीनामा अनिवार्य रहेको अडान दोहोर्याए।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार











प्रतिक्रिया