काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लाको गुठिचौर गाउँपालिका-१ मणिसाँघुमा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर) को शिलान्यास गरेकी छन्। हिमानी ट्रष्टको पहलमा निर्माण गर्न लागिएको उक्त केन्द्रको शिलान्यास आइतबार एक समारोहबीच सम्पन्न भएको हो।
पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा, पूर्वनवयुवराज हृदयेन्द्र शाह पनि कार्यक्रममा सहभागी भएका थिए। उनीहरू शनिबार नै जुम्ला पुगेका थिए।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका प्रमुख सचेतक तथा जुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले पूर्वराजपरिवारको सामाजिक सेवा कार्यप्रति प्रशंसा व्यक्त गर्दै हिमानी शाह र हृदयेन्द्र शाहले जुम्लामा प्रेरणादायी कार्य गरेको बताए।
गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले राजपरिवारप्रति आभार व्यक्त गर्दै उक्त परियोजनाबाट स्थानीयवासीले विशेष लाभ पाउने विश्वास व्यक्त गरे। वडा नम्बर १ का वडाध्यक्ष अजुन महताराले बर्थिङ सेन्टरले गाउँघरका महिलाहरूका लागि सुरक्षित मातृत्व सेवा पुर्याउन ठूलो मद्दत गर्ने बताए।
सुदूरपश्चिमको विकट जिल्ला जुम्लामा यस्तो पहल हुनु सकारात्मक संकेत भएको जनाइएको छ। हिमानी ट्रष्टद्वारा सञ्चालित बर्थिङ सेन्टरले मातृ तथा शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया