पोखरा । पोखरामा बुधबार दिउँसो दुई वटा प्याराग्लाइडिङ फेवातालमा खस्दा चार जनाको सकुशल उद्धार गरिएको छ।
पोखरा महानगरपालिका–१८ स्थित तोरेपानीबाट उडान भरेका दुई वटा प्याराग्लाइडिङ ल्यान्डिङको क्रममा अनियन्त्रित भई फेवातालको बीच भागमा खसेका हुन्। दुबै प्याराग्लाइडिङ एकैपटक दुर्घटनामा परेपछि उद्धार कार्य तत्कालै सुरु गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपालको कालिका गण (नम्बर २४), कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको टोलीले घटनास्थलमा पुगेर चारै जनाको सकुशल उद्धार गरेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परेका यात्रुहरूमा भारतको बनारस निवासी ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल रहेका छन्। साथै, अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी पनि दुर्घटनामा परेका थिए।
सभीको स्वास्थ्य अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। मौसम र प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया