काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक पुरुष र एक महिलाको शव मृतावस्थामा फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका–४, पासिकोटस्थित थ्रिस्टार किड्जोन स्कुलको परिसरभित्र रहेको साढे दुई तले घरभित्र उनीहरू मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शुक्रबार राति करिब पौने १० बजेतिर शव फेला परेको हो। मृतकहरूमा ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ रहेको खुलेको छ। गिल भारतको पञ्जाब, चन्डीगढ निवासी हुन् भने अन्जना धादिङको गल्छी गाउँपालिका–६ की स्थायी बासिन्दा हुन्, जो हाल उक्त घरमा काम गर्दै बसोबास गरिरहेकी थिइन्।

advertisement

स्रोतका अनुसार परम नारायणले साढे दुई तले घरको पहिलो तलाको एक कोठा भाडामा लिएका थिए। उनी पेसाले वेडिङ फोटोग्राफर समेत रहेका थिए। उनले नेपाली महिलासँग विवाह गरेका थिए र उनकी श्रीमती हाल टर्कीमा बसोबास गर्दै आएकी थिइन्, तर घटनापछि नेपाल फर्किसकेकी छन्।

शव फेला परेपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको थियो। प्रहरीका अनुसार कोठा भित्रबाट बन्द गरिएको थियो, जसपछि ढोका फोडेर प्रहरी घटनास्थलमा प्रवेश गरेको हो। घटनास्थलमा राति २ बजेसम्म मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान गरिएको थियो।

शवको अवस्थाबारे प्रहरी स्रोतले जनाएको विवरण अनुसार अन्जना सोफामा मृत फेला परेकी थिइन्, उनको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ। परम नारायण भने कोठाको भुइँमा निर्जीव अवस्थामा भेटिएका थिए, तर उनको शरीरमा कुनै चोटपटक देखिएको थिएन। घटनास्थलमै एउटा ह्याम्मर र विषादीको बट्टा पनि फेला परेको थियो। त्यस्तै, कोठाभित्रै एक कुकुर पनि मृत अवस्थामा भेटिएको थियो।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुमानमा हत्यापछि आत्महत्या गरिएको हुन सक्ने देखिएको छ। कुकुरलाई पनि विषादी खुवाइएको हुनसक्ने आशंका गरिएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ भने दुबै शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com