तेहरान । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिका र त्यसका नेताहरूलाई स्पष्ट सन्देश दिँदै इरान कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले इरानी स्वाभिमान र सार्वभौमिकता कुनै पनि हालतमा झुक्न नसक्ने प्रष्ट पारेका हुन्।
खामेनीको यो अभिव्यक्ति अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानलाई बिना सर्त आत्मसमर्पण गर्न सार्वजनिक रूपमै दिएको दबाबको भोलिपल्ट आएको हो। खामेनीले भने, “अमेरिकालाई बुझ्न जरुरी छ– इरान आत्मसमर्पण गर्ने राष्ट्र होइन। यदि उनीहरूले सैन्य हस्तक्षेप गरे भने त्यसको परिणाम अपूरणीय र गम्भीर हुनेछ।”
गत हप्ता इजरायलले इरानमाथि सैन्य आक्रमण आरम्भ गरेपछि खामेनीको यो दोस्रो प्रतिक्रिया हो। उनले थपे, “इरानका जनता, यहाँको इतिहास, र यहाँका सचेत वर्गलाई बुझ्नेहरूलाई थाहा छ– हामीलाई धम्कीले झुकाउन सकिँदैन। इरानीहरू धम्की र दबाबसँग डराउँदैनन्। हामी आत्मसम्मानको पक्षमा अडिग छौं।”
पूर्वराष्ट्रपति ट्रम्पले मंगलबार सामाजिक सञ्जालमार्फत खामेनीलाई इरानलाई आत्मसमर्पण गराउन चेतावनी दिएका थिए। त्यसको प्रतिवादमा इरानी नेतृत्वले राष्ट्रको अखण्डता, गरिमा र साखका लागि कुनै पनि चुनौतीको डटेर सामना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
खामेनीको सम्बोधन प्रत्यक्ष नभई सरकारी सञ्चारमाध्यममार्फत प्रसारित गरिएको थियो। सम्बोधनमा फेरि दोहोर्याइएको छ, “अमेरिकाको सैन्य हस्तक्षेपले केवल विनाश ल्याउनेछ, शान्ति होइन।”
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया