ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोस्थित नवनिर्मित फ्लाइओभरको उद्घाटन गर्दै देश अब चौतर्फी विकासको यात्रामा अघि बढेको बताएका छन्। शुक्रबार आयोजित विशेष कार्यक्रममा उनले ओभरपासको उद्घाटन गर्दै आत्मनिर्भरता प्राप्त गर्ने दिशामा नेपालले ठूला फड्को मारिरहेको बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उनले आशिष समानान्तर रेलिगेर जेभीले इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (EPC) मोडेलमा निर्माण गरेको यो फ्लाइओभर नेपालकै पहिलो भएको उल्लेख गरे।
झण्डै १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा बनेको यस संरचना ५ सय मिटर लामो अप्रोच सडकसहित ३५ मिटर स्पानको चार लेनको पुल हो। ग्वार्को चोकको नियमित ट्राफिक जामलाई कम गर्ने उद्देश्यले २०७८ सालमा निर्माण सुरु भएको यो परियोजना अब सम्पन्न भएको हो।
प्रधानमन्त्री ओलीले भने, “देशमा यस्ता आधुनिक पूर्वाधार निर्माण हुनु खुसीको कुरा हो। अब ग्वार्को चोकमा लामो ट्राफिक लाइन लाग्ने दिन गए। यो विकासको गतिमा लागेको राष्ट्रको प्रमाण हो।”
उनले देशको समग्र विकासका लागि सरकार बहुआयामिक योजना अनुसार अघि बढिरहेको र यस अभियानमा जनताको साथ आवश्यक रहेको बताए।
“दैलेखमा मिथेन ग्यासको ठूलो भण्डार फेला परेको छ। एक कुवाबाट ५० वर्षसम्म चल्ने ग्यास उत्पादन हुने अवस्था देखिएको छ। त्यहाँ उत्खनन् मैले सुरु गराएको थिएँ,” उनले उल्लेख गरे।
धौवादी फलाम खानी र त्यहाँबाट सुरू हुने उद्योगले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने पनि उनको भनाइ थियो।
उनले भने, “देशलाई आत्मनिर्भर बनाउने दिशामा हामी दृढ छौँ। कृषिको आधुनिकीकरण, नयाँ उद्योगको स्थापना, प्रशासनिक सुधार र सामाजिक परिवर्तन हाम्रो लक्ष्य हो। निराश हुने होइन, सम्भावनाको खोजी गर्दै अघि बढ्ने हो।”
प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्ग जस्ता ठूला परियोजनाले तराईको स्वरूप नै बदल्ने बताए।
उनका अनुसार, मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायतका विकास आयोजनाहरूले देशको संरचनागत परिवर्तनको गति बढाउनेछन्।
कार्यक्रममा उनले सबै नेपालीलाई आशावादी रहन आग्रह गर्दै भने, “देश परिवर्तनको मोडमा छ। स्वदेशमै रोजगारी, आधुनिकता र आत्मनिर्भरता हासिल गर्न सकिन्छ भन्ने अब सपना होइन, हाम्रा कदमहरू नै त्यस दिशामा अग्रसर छन्।”
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया