काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास र सुशासनमा केन्द्रित रहेको स्पष्ट पार्दै अनावश्यक आरोप–प्रत्यारोपमा नअल्झन सबैलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकार जनअपेक्षा अनुरूप मुलुकलाई समुन्नतिको बाटोमा अघि बढाउन कटिबद्ध रहेको बताए। उनले भने, “राज्यका सम्पूर्ण निकायलाई विकास निर्माण र सुशासनको लक्ष्यमा क्रियाशील बनाइएको छ। सरकारलाई कसैसँग वैमनस्य राखेर कुनै किसिमको खेल खेल्ने समय र आवश्यकता छैन। त्यसैले, यस्ता भ्रम फैलाउने प्रयास नगर्न सबैमा आग्रह गर्दछु।”

advertisement

प्रधानमन्त्री ओलीले सन्तुलित र समावेशी बजेट निर्माण गर्ने प्रयास गरिएको उल्लेख गर्दै सीमित स्रोतसाधनका बाबजुद देशको तीव्र विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए। “हामीलाई तीव्र र व्यापक विकास आवश्यक छ, तर बजेट सीमित छ। त्यसैले सबै क्षेत्र सन्तुष्ट नहुन सक्छन्, तर सन्तुलन कायम राख्ने हाम्रो प्रयास निरन्तर रहनेछ,” उनले भने।

संसद् बहस र छलफलका माध्यमबाट नीतिगत सुधार र समृद्धिको दिशामा अग्रसर हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र र राष्ट्रका सर्वोच्च मूल्यहरूलाई कमजोर बनाउने अभिव्यक्तिबाट जोगिन पनि सचेत गराए। “व्यक्तिगत रूपमा मलाई गरिएको आलोचना सहन म तयार छु, तर शहीदहरूको बलिदान र मुलुकको राजनीतिक प्रणालीमाथि हुने अपमान सह्य हुने छैन,” उनले चेतावनी दिए।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न दृढताका साथ अघि बढिरहेको पुनः दोहोर्‍याए। “संसद् जनताको बलिदान र विश्वासको केन्द्र हो, यसलाई प्रणाली विरोधी आरोपहरूको थलो बनाउन पाइँदैन,” उनले भने।

 

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com