काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले खाडी मुलुकमा कार्यरत नेपालीहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित बहराइन, ओमान, युएई र कतारको भ्रमण गर्ने घोषणा गरेका छन्। यस भ्रमणलाई धेरैले भावनात्मक सम्पर्क अभियानको रूपमा लिए पनि केहीले यसलाई आगामी राजनीतिक अभ्याससँग पनि जोडेर हेरेका छन्।
फेसबुकमार्फत आफ्नो भ्रमणको जानकारी दिँदै घिसिङले वैदेशिक भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर रहेका नेपालीहरूसँग प्रत्यक्ष भेट्ने र तिनका भोगाइ, भावना र संघर्ष सुन्ने अवसरका रूपमा भ्रमणलाई व्याख्या गरेका छन्।
यस्ताे छ उनको भ्रमण कार्यतालिका :
बहराइन : जुलाई २-४, युएई : जुलाई ५-८, ओमान : जुलाई ९-१०, कतार : जुलाई ११-१३
घिसिङले लेखेका छन्, “विदेशी भूमिमा रहँदा पनि तपाईंहरूको योगदान अतुलनीय छ। म तपाईंहरूको भोगाइ प्रत्यक्ष रूपमा सुन्न, अनुभूति बाँड्न र भावनात्मक रूपमा जोडिन चाहन्छु।”
उनले वैदेशिक रोजगारमा गएकाको संघर्षलाई राज्यको साझा जिम्मेवारीको रूपमा व्याख्या गरेका छन्। “जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस्,” भन्ने सन्देशसहित उनले आफ्ना शुभेच्छा पनि व्यक्त गरेका छन्।
यस किसिमको दौडधुपलाई कतिपयले भावनात्मक सन्देशमार्फत जनसम्पर्क विस्तारको प्रयास भनेका छन् भने अन्यले सम्भावित राजनीतिक अभियानको प्रारम्भिक अभ्यासका रूपमा हेरेका छन्।
नेपालबाहिरको ठूलो नेपाली समुदायसँग यस्तो प्रत्यक्ष भेटघाट राजनीतिक, सामाजिक र भावनात्मक हिसाबले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया