काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई लामो दूरीसम्म मारहान्न सक्ने शक्तिशाली हतियार दिने संकेत दिएका छन्। रूसमाथि पहिलेभन्दा नरम देखिएका ट्रम्प अहिले भने कडा नीति अवलम्बन गर्ने तयारीमा छन्।
शान्तिको पहलस्वरूप आरम्भमा क्रेमलिनप्रति सहिष्णु र किभप्रति चर्को दबाब बनाएका ट्रम्प, अब रूसले बारम्बार युद्धविराम अस्वीकार गरेपछि युक्रेनलाई सशक्त बनाउने रणनीतिमा लागेका छन्।
ब्रिटिश पत्रिका फाइनान्सियल टाइम्स अनुसार, ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शक्तिशाली हतियार दिएमा मस्को र सेन्ट पिटर्सबर्गमाथि आक्रमण गर्न सक्ने हो कि भनेर सोधेका थिए। जवाफमा जेलेन्स्कीले यदि अमेरिकाले हतियार उपलब्ध गराएमा यस्ता आक्रमण सम्भव हुने बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार, ट्रम्पले रूसमाथि दबाब बढाउँदै युद्धविरामका लागि बाध्य पार्ने योजना बनाएका छन्। यही उद्देश्यले उनले युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउने तयारी गरिरहेका हुन्।
फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, ट्रम्प र जेलेन्स्कीबीचको संवाद जुलाई ४ मा भएको हो। तर हतियार आपूर्तिको निर्णयमा अमेरिकी प्रशासनको अन्तिम मोहर भने अझै लागेको छैन। वाशिंगटनले आधिकारिक रूपमा कुनै घोषणा गरेको छैन।
ट्रम्पले पुटिनलाई युद्धविराममा सहमत हुन ५० दिनको समय दिएका थिए। तर पुटिनले सहमति नजनाएपछि ट्रम्प रुष्ट बनेका छन्। यसै रिसको झोंकमा उनले युक्रेनलाई थप सैन्य सहयोग गर्नसक्ने आकलन गरिएको छ। उनले यति मात्र नभई, रूसबाट तेल किन्ने मुलुकहरूलाई उच्च भन्सार शुल्क लगाउने चेतावनी समेत दिएका छन्।
ट्रम्पको रूसविरुद्ध कडा रुख अपनाउन पत्नी मेलानियाको भूमिका पनि महत्त्वपूर्ण देखिएको छ। स्लोभेनियामा जन्मेकी मेलानिया पूर्व कम्युनिस्ट युगोस्लाभियाको प्रभावमा हुर्किएकी हुन्। त्यसैले पूर्वी युरोपमा रूसले पुर्याएको असरप्रति उनी संवेदनशील छन्।
ट्रम्पले एक कार्यक्रममा भनेका छन्, ‘म घर पुग्छु, मेलानियासँग पुटिनसँगको कुराकानी सुनाउँछु। अनि उनी भन्छिन्, “अहिलेमात्रै अर्को युक्रेनी शहरमा हमला भयो।” द टाइम्स का अनुसार, मेलानियाले ट्रम्पलाई युक्रेनलाई सहयोग गर्न निरन्तर आग्रह गरिरहेकी छन्।
मेलानियाकी जीवनीकार मेरी जोर्डनका अनुसार, स्लोभेनियाका नागरिकहरू युक्रेनप्रति सहानुभूति राख्छन् र अमेरिकाले युक्रेनलाई अचानक सहयोग रोकेकोमा उनीहरू चिन्तित छन्। यही जनभावनाले मेलानियालाई प्रभाव पारेको र त्यसको असर ट्रम्पमाथि देखिएको उनी बताउँछिन्।
सन् २०२२ मा जब पुटिनले युक्रेनमाथि आक्रमण गरे, ट्रम्पले उनलाई ‘जिनियस’ को संज्ञा दिएका थिए। तर मेलानियाले त्यसबेला नै निर्दोष नागरिकहरूको हत्या ‘हृदयविदारक’ भएको बताउँदै युक्रेनी जनताको पक्षमा खुलेर बोलेकी थिइन्।
उनले आफ्ना समर्थकहरूलाई रेडक्रसमार्फत युक्रेनलाई सहयोग गर्नसमेत आग्रह गरेकी थिइन्।
ट्रम्पको पछिल्लो कडा अडानले रूस–अमेरिका सम्बन्ध झनै तनावपूर्ण बन्ने संकेत देखिएको छ। युक्रेनलाई लामो दूरीका हतियार दिने निर्णयले युद्धको आयाम बदल्न सक्छ। र, यसमा ट्रम्पको व्यक्तिगत भावना मात्र होइन, मेलानियाजस्ता निकट व्यक्तिको भूमिकासमेत निर्णायक देखिन थालेको छ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया