काठमाडौं । नेपाल र भारतका गृहसचिवस्तरीय बैठक मंगलबार दिल्लीमा हुने तय भएको छ । उक्त बैठक ९ वर्षपछि हुन लागेको हो । गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा छ ।
दुई देशबीच विभिन्न तहमा रहेका संयन्त्रहरूमध्ये गृहसचिव नेतृत्वको संयन्त्र पनि छ । सीमा वारपार अपराध, मानव तस्करी, लागूऔषध कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायतका कार्यलाई नियन्त्रण गर्न दुई देशका उच्च अधिकारीबीच छलफल र सहकार्य गर्न यो बैठक हुन लागेको हो ।
प्रत्येक वर्ष हुने भनिएको सचिवस्तरीय बैठक २०१६ मा दिल्लीमा भएपछि हुन सकेको थिएन । गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले सीमा सुरक्षा, सूचना आदानप्रदान, प्राकृतिक प्रकोपका साझा समस्यालगायतका विषयहरूमा बैठक केन्द्रित रहने बताए ।
नेपालबाट जाने टोलीमा गृह, परराष्ट्र र कानुन मन्त्रालयका सहसचिवहरूसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रि अनुसन्धानका अतिरिक्त महानिरीक्षकहरू रहनेछन् । त्यस्तै, नापी विभाग तथा अध्यागमन विभागका महानिर्देशक पनि गृहसचिव नेतृत्वको टोलीमा रहने जनाइएको छ । गत चैतमा पोखरामा दुवै देशका गृहका सहसचिवस्तरीय बैठक भएको थियो ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया