काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको छ। बैंकले करिब २१ अर्ब रुपैयाँ बराबरका ४२ करोड थान नोट छपाउन तयारी थालेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै पूर्वयोग्य सूचीमा रहेका अन्तर्राष्ट्रिय सुरक्षात्मक मुद्रण कम्पनीहरूलाई बोलपत्र पेश गर्न आह्वान गरेको हो। यो टेन्डर अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत खोलिएको हो, जसअन्तर्गत नोटको डिजाइन, छपाइ, आपूर्ति र डेलिभरीको जिम्मा दिइनेछ।
इच्छुक कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ तारिखको दिउँसो १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र पेश गर्नुपर्नेछ। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १ बजे खोलिने जनाइएको छ।
यसअघि सन् २०२५ अगस्ट १७ मा प्रि–बिड (पूर्व-बोली) बैठक आयोजना गरिनेछ, जसमा टेन्डर प्रक्रियासम्बन्धी स्पष्ट जानकारी दिइनेछ। बोलपत्रमा सहभागी हुन चाहने कम्पनीहरूले २० हजार नेपाली रुपैयाँ वा वैकल्पिक रूपमा १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ड स्टर्लिङ तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन्।
बोलपत्र पेस गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी (जमानत रकम) समेत अनिवार्य रूपमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले नियमित मुद्रासञ्चालन तथा पुराना नोट प्रतिस्थापनका लागि नयाँ नोट छपाइको तयारी गरेको हो।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया