ताप्लेजुङ । ताप्लेजुङमा सामान्य भनिएको घरायसी विवाद ज्यानै जाने घटनामा परिणत भएको छ। फुङलिङ नगरपालिका–६ का ३५ वर्षीय सञ्जमान लिम्बू (विजय) ले आफ्नै श्रीमतीको कैंची प्रहार गरी हत्या गरेका छन्।
घटना ढाकछोप गर्न उनले श्रीमती लडेर घाइते भएको भन्दै झुठो विवरण दिए पनि प्रहरीको सूक्ष्म अनुसन्धानले वास्तविकता उजागर गरेको हो।
प्रहरी अनुसन्धानअनुसार, गत साउन ८ गते सञ्जमानले श्रीमती शान्तिलाई खैनी माड्न लगाउँदा सुरु भएको विवाद चर्किएपछि कोठामा रहेको कैंचीले श्रीमतीको योनाङ्गभन्दा केही माथि पेटमा घोपेका थिए।
घटनापछि उनले श्रीमतीलाई ताप्लेजुङ अस्पताल लगेर ‘बाटोमा लड्दा रडले घोचेको हो’ भन्ने बहाना बनाएर उपचार गराए। चोट सिलाइपछि घर फर्काइएकी शान्तिको अवस्था साउन ९ गते अचानक बिग्रियो। दिसापिसाब बन्द हुनु, वान्ता हुनुजस्ता गम्भीर लक्षण देखिएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो।
तर साउन १० गते राति ११:३० बजे उपचारकै क्रममा शान्तिको मृत्यु भयो।
श्रीमतीको मृत्युपछि सञ्जमानले घटना दुर्घटना जस्तो देखाउन प्रहरीसमक्ष ‘हिँड्दा रडले घोचेको’ भन्दै झुटो जाहेरी दिएका थिए।
तर घटनामा शंका लागेपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा विशेष सूचना, शव परीक्षण रिपोर्ट तथा आफन्तहरूसँगको बयानका आधारमा श्रीमान्लाई संलग्न देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार, अनुसन्धानमा धेरै मिहिनेतपछि सञ्जमान नै हत्यामा संलग्न रहेको पुष्टि भएको हो।
‘घटना प्रारम्भमै शंकास्पद थियो। हामीले सबै पक्ष गहिरिएर जाँच्यौं। अन्ततः हत्यामा श्रीमान्लाई दोषी ठहर गर्ने पर्याप्त प्रमाण फेला पार्यौं,’ डीएसपी गौतमले जानकारी दिए।
सञ्जमानविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
मृतक शान्तिको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार












प्रतिक्रिया