काठमाडौं । आइतबार रातिदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आठवटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार पहिरो, नदी कटान र सडक भासिएका कारण यी सडकहरू अवरुद्ध भएका हुन्।
पूर्ण रूपमा अवरुद्ध हुने सडकहरूमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा चीनसँग जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशीस्थित अरनिको राजमार्ग, र लमजुङको बेँसीशहर-मनाङ सडकखण्ड परेका छन्।
त्यस्तै गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी–बामी सडक, चन्द्रकोटस्थित रिडी–वामी सडक, रुकुम पश्चिमको आठबिसकोटस्थित जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीको पाटन नगरपालिकास्थित दशरथचन्द राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध छन्।
यसैबीच, काठमाडौंको टोखा-नुवाकोट, बाग्लुङ नगरपालिकाको कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट खण्ड, मुस्ताङको बेनी-जोमसोम सडक, तनहुँको बन्दीपुरस्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकाको सहिद राजमार्गमा भने एकतर्फी रूपमा सवारीसाधन चलाइँदै आएको प्रहरीले जनाएको छ।
प्रहरीले जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया