काठमाडाैं । भारतको उत्तर प्रदेशस्थित गोंडा जिल्लामा बोलेरो गाडी नहरमा खस्दा ११ जनाको ज्यान गएको छ। दुर्घटना गोंडाको मोतीगञ्ज थाना क्षेत्रअन्तर्गत पर्ने सरयू नहरमा भएको हो।
जिल्ला प्रशासनका अनुसार बोलेरोमा सवार १५ जना पृथ्वीनाथ मन्दिरमा जल चढाउन गइरहेका थिए। सो क्रममा गाडी अनियन्त्रित भई सरयू नहरमा खसेको हो। दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश एकै परिवारका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा मृतक र घाइतेलाई नहरबाट बाहिर निकालेको थियो। मृत्यु हुनेहरूमा महिला, पुरुष र बालबालिका समेत परेका छन्।
घटनाको भिडियोमा स्थानीयले घाइतेहरूलाई सिपीआर (CPR) दिँदै ज्यान बचाउने प्रयास गरेको देखिन्छ। तर सबैको अवस्था अति गम्भीर रहेकाले कसैलाई पनि बचाउन सकिएन।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया