काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको पहलमा नभई व्यक्तिगत रूपमा स्थापित भएको दाबी गरेका छन्।
सोमबार च्यासलमा आयोजित मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीका नाममा स्थापना हुने प्रतिष्ठानहरू सामूहिक स्वामित्वमा रहनुपर्नेमा जोड दिए। तर, कतिपय प्रतिष्ठान पछि व्यक्तिगत नियन्त्रणमा पुग्ने र त्यसलाई स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति देखिएको उनले आरोप लगाए।
ओलीले उदाहरण दिँदै भने, “पार्टीले पुष्पलाल र मनमोहनका नाममा प्रतिष्ठान स्थापना गर्यो। पहिले प्रधानमन्त्री भएपछि समयको अभावका कारण परिवर्तन गर्न सक्ने अवस्था थियो, तर पछि केही व्यक्तिले त्यसलाई व्यक्तिगत स्वार्थका लागि कब्जा गरे।”
उनका अनुसार मदन भण्डारी फाउन्डेसन पनि पार्टीले होइन, व्यक्तिगत रूपमा गठन भएको हो। उनले थपे, “मदन आश्रित स्मृति मनाउन नपाइने जस्तो परिस्थिति बनेपछि यो प्रतिष्ठान जन्मिएको हो। अब यो फाउन्डेसनको भविष्य कस्तो हुन्छ, हेर्न बाँकी छ।”
फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी रहेको उल्लेख गर्दै ओलीले यस संस्थाको भूमिका र उद्देश्यप्रति अन्योल रहेको बताए।
“कम्युनिस्ट पाठशाला भनेर एउटा संस्था बनाइएको छ। यो व्यक्ति वा परिवारको हो, कि आन्दोलनकै लागि हो? आन्दोलनको नाममा ठगी गर्ने माध्यम बनाउनु उचित होइन,” ओलीले स्पष्ट पारे।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया