काठमाडौं । खानी विभागको नेतृत्व सम्हालेकी महानिर्देशक मोनिका झा कमजोर कार्यक्षमताका कारण मन्त्रालयलाई नै समस्यामा पार्ने अवस्थामा पुगेपछि मन्त्रीपरिषद्ले उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। खानी विभागमा चार महिनादेखि चलिरहेको अव्यवस्था अन्त्य गर्न सरकारले महानिर्देशक झालाई अन्ततः विभागबाट हटाएको हो।
उद्योग मन्त्रालयको २०८२ वैशाख २ गतेको निर्णयअनुसार नायव महानिर्देशकबाट पदोन्नति भएर झा खानी विभागको शीर्ष पदमा पुगेकी थिइन्। महिलालाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप उनी वरिष्ठ प्राविधिक सहसचिवहरूलाई उछिन्दै महानिर्देशक नियुक्त भएकी थिइन्। तर, करिब चार महिनाको कार्यकालमै उनको कार्य शैलीले विभाग अस्तव्यस्त बनेको मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालयका अनुसार, झाको कार्यशैली विभागीय प्रमुखको योग्यतासँग मेल खाएन। सामान्य कर्मचारीले गर्ने कामभन्दा तल्लो स्तरमा सीमित रहेकी उनी, नीतिगत तथा रणनीतिक विषयमा पूर्णतया असफल देखिइन्। सामान्य काम समेत नगरी व्यक्तिगत फाइदा हुने कार्यमा सक्रिय रहेको लगायत उनिमाथी गम्भीर आरोप समेत लाग्दै आएको थियो। सचिव, मन्त्री र प्रधानमन्त्रीसँगको बैठकमा तयारीबिनै उपस्थित भई प्रसङ्गबाहिरका कुरा गर्ने उनको बानीले उच्च निर्णय तहसमेतको कार्य अस्तव्यस्त बनेको मन्त्रालयको ठहर छ।
व्यक्तिगत स्वार्थ परिपुर्तिमा ध्यान, कार्यालयमा आउने सेवाग्राहीसँग अस्वभाविक हर्कत र मातहतका कर्मचारीमाथि लालक्षणा लगाउने प्रवृत्तिले विभागभित्रको वातावरण बिगारिएको भन्दै मन्त्रालयले उनिमाथी निगरानी बढाएको थियो। “मसँग अझै १५ वर्षे सेवा अवधि बाँकी छ, मलाई कसैले केही गर्न सक्दैन” भन्ने घमण्डका कारण उनले माथिल्लो तहको आदेश मान्ने संस्कृतिलाई समेत लत्याउने गरेको बताइन्छ।
यसैबीच, मन्त्री परिषद्को २०८२ साउन २६ गतेको निर्णयले झालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। तर, उनले सरुवालाई प्रशासनिक प्रक्रिया स्वीकार्न नसकी मन्त्रालयका पदाधिकारीहरूमाथि आरोप–प्रत्यारोप गर्न थालेकी छिन् भने आफ्नो कमजोरी लुकाउन मिडियाबाजीमा समेत उत्रिएकि छन्।
उनको आगामी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गर्ने भूमिका र कार्यशैलीले उनी कति सक्षम छिन् वा छैनन् भन्ने थप प्रष्ट हुन्छ।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया