काठमाडौं । सिंहदरबारभित्रै रहेको नेपाल टेलिभिजनको क्यान्टिनबाट उपभोक्तालाई दिइने खाना नै अस्वच्छ र असुरक्षित भएको पुष्टि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।
विभागको अनुगमन टोलीले क्यान्टिन ‘कञ्चन चमेना गृह’ मा छापा मार्दा खानामा सरसफाइको न्यूनतम मापदण्ड समेत नपुगेको, अव्यवस्थित रूपमा सञ्चालन गरिएको र मूल्यसूचीसम्मका आधारभूत कागजात समेत नभएको पाइएपछि क्यान्टिनलाई तत्काल ५१ हजार रुपैयाँ जरिवाना गरिएको विभागका वरिष्ठ अनुगमन अधिकृत अमितकुमार झाले जानकारी दिए। उक्त क्यान्टिनको खानामा पटक-पटक किरा समेत फेला पर्ने गरेको छ।

“क्यान्टिनमा सरसफाइ नहुँदा खाना नै स्वास्थ्यका लागि खतरनाक हुने अवस्थामा पुगेको उजुरी आएको थियो। अनुगमन गर्दा अवस्था निकै नै भद्रगोल देखियो,” उनले भने, “पहिलो कारबाही भएकाले सचेतनासहित न्यूनतम जरिवाना मात्र गरिएको हो।”
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिकसहितको टोलीसमेत सहभागी थियो। विभागले क्यान्टिन सञ्चालकलाई तत्काल सुधार नगरे कडाभन्दा कडा कानूनी कारबाही गर्ने चेतावनी पनि दिएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया