काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रभावकारी समावेश अनिवार्य रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विश्वव्यापीकरणसँगै तीव्र गतिमा विकास भइरहेका प्रविधिलाई पाठ्यक्रममा समेट्न ढिलाइ गर्न नहुने धारणा राखे।
“हामीले पाठ्यक्रमलाई अहिलेको प्रविधि र बदलिँदो युगसँग सुसंगत बनाउनुपर्छ। विश्वव्यापीकरणका प्रविधिहरूलाई शिक्षा प्रणालीमा आत्मसात् गर्नुपर्छ,” सांसद भण्डारीले भने।
उनले सरुवासम्बन्धी प्रावधानमा शिक्षकहरूले उठाएको असन्तुष्टि पनि सम्बोधन गर्नुपर्नेमा जोड दिए। खाली पदस्थापन भएका स्थानमा शिक्षकलाई सरुवा हुन सक्ने व्यवस्था विधेयकमा स्पष्ट उल्लेख गर्नुपर्ने उनले औंल्याए। “जिल्ला, प्रदेश वा गाउँ तहमा शिक्षकलाई एक पटक अवसर मिलोस् भन्ने माग गरिएको छ। यसलाई बुझिने गरी राख्दा सरुवाको अवसर नपाउने गुनासो गर्ने शिक्षकहरूलाई फाइदा पुग्छ,” उनले बताए।
त्यस्तै सांसद भण्डारीले प्राध्यापकहरूलाई नयाँ संगठन खोल्न नदिने व्यवस्था विधेयकमा राख्नुपर्ने आवश्यकता औंल्याए। “प्राध्यापकलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघ–संस्थामा आबद्ध नहुने र विद्यालयमै केन्द्रित हुने भनिएको छ। यससँगै उनीहरूले नयाँ संगठन खोल्न नपाउने कुरा पनि प्रष्ट रूपमा लेखिनुपर्छ। होइन भने संघ–संस्थामा आबद्ध हुने अधिकार दिनुपर्छ,” उनले स्पष्ट पारे।
बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि निरन्तर छलफल जारी छ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया