काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार बिहान भंगालस्थित निवासमा भेटवार्ता भएको छ।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकोप्रति असन्तुष्टि व्यक्त गरिन्। सहकारी बचत रकम अपचलन मुद्दामा रूपन्देही कारागारमा राखिएका लामिछानेलाई हालै नख्खु कारागार ल्याइएको हो। भण्डारीले भनिन्, “रविजीमाथि भइरहेको व्यवहारप्रति म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ।”
उनले सहकारी बचतकर्ताहरूको रकम सरकारले अझै फिर्ता नगरेकोमा चिन्ता व्यक्त गर्दै, “सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाइयो, तर बचतकर्ताहरूको पैसा अझै फिर्ता भएको छैन। चाडपर्वको मुखमा उनीहरूले आफ्नो बचत पाउनुपर्ने हो,” भनिन्।
भण्डारीले राजनीतिमा युवा पुस्ता नयाँ विचारसहित अघि आएको भन्दै प्रशंसा समेत गरिन्। भेटमा एमाले सदस्यताबारे पनि चर्चा भएको प्रवक्ता झाले बताए। उनका अनुसार भण्डारीले केही समयअघि ऋषि धमलासँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीमा फर्कन कुनै समस्या नरहेको बताएका प्रसंग स्मरण गराएकी थिइन्।
गत साउनमा एमाले केन्द्रीय कमिटीले भण्डारीलाई सक्रिय राजनीतिमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेको थियो। तर, भण्डारी विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार













प्रतिक्रिया