काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि दबाब बढाउँदै बुधबारदेखि धेरै भारतीय सामानमा भन्सार शुल्क दोब्बर गर्दै ५० प्रतिशत लागू गरेका छन्।
ट्रम्प प्रशासनले भारतले रूसबाट तेल खरिद बढाएको कारण यो कदम उठाएको बताइएको छ। युक्रेन युद्धमा रसियालाई ऊर्जा कारोबारमार्फत राजस्व जाने भन्दै अमेरिकाले भारतलाई लक्षित गरेको हो।
यस कदमपछि अमेरिका–भारत सम्बन्धमा थप तनाव देखिएको विश्लेषकहरूले जनाएका छन्। उनीहरूका अनुसार, नयाँदिल्लीलाई चीनसँग सम्बन्ध सुधार गर्न प्रेरित गर्ने सम्भावना बढेको छ।
अमेरिकाले भारतबाट आयात गर्ने ८७ अर्ब ३० करोड डलर बराबरको सामानमध्ये कपडा, समुद्री खाना र गहनाजस्ता क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको छ। यी क्षेत्रमा कार्यरत साना कम्पनीहरूले अर्डर रद्द हुनुका साथै बङ्गलादेश र भियतनाम जस्ता प्रतिस्पर्धी लाभान्वित भएको बताएका छन्। यसले रोजगारी संकटको आशंका बढाएको छ।
औषधि, कम्प्युटर चिप्स, स्मार्टफोन, स्टिल, एल्युमिनियम र अटोमोबाइल भने नयाँ भन्सार शुल्कबाट छुट दिइएको छ।
भारतले अमेरिकी कदमलाई “अनुचित, अन्यायपूर्ण र अव्यावहारिक” भन्दै कडा आलोचना गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारततर्फ अघि बढ्ने र करभार कम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
भारतको विदेश मन्त्रालयका अनुसार, युरोपले रसियाबाट आपूर्ति कम गरेपछि भारतले त्यहाँबाट तेल आयात बढाएको हो। २०२४ मा भारतले आयात गर्ने कुल कच्चा तेलमध्ये ३६ प्रतिशत रसियाबाट आएको थियो।
अमेरिकी व्यापार सल्लाहकार पिटर नाभारोले भारतको कदमलाई “चिनियाँ राष्ट्रपति सी जिनपिङको नीति जस्तै” भएको टिप्पणी गर्दै उच्च करको औचित्य रक्षा गरेका छन्। एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी वरिष्ठ उपाध्यक्ष वेन्डी कटलरले यो कदमलाई “ट्रम्प कर गाथाको सबैभन्दा चिन्ताजनक घटना” भनेकी छन्।
ट्रम्पले यसअघि पनि युरोपेली संघदेखि इन्डोनेसियासम्मका साझेदारमाथि उच्च भन्सार लगाउँदै आएको र यसपटक भारत र ब्राजिललाई निशाना बनाएको बताइएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया