काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई केवल आतंककारी गतिविधि भनेर मात्र हेर्ने प्रवृत्तिप्रति आलोचना गरेका छन्।

बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित पुस्तक ‘संघर्षमा सिरानचोक’को लोकार्पण कार्यक्रममा प्रचण्डले माओवादी संघर्षलाई सामाजिक रुपान्तरणको मुख्य वाहकका रूपमा बुझ्न सबै दल र समाजसँग आग्रह गरे।

advertisement

उनले भने, “अझै पनि केहीले जनयुद्धलाई आतंककारी गतिविधि मात्र भनेर व्याख्या गर्छन्। तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबैले आत्मसात् गर्न आवश्यक छ।”

प्रचण्डले नेपालमा माओवादी संघर्ष केवल मार्क्स, एङ्गेल्स, लेनिन र माओका सिद्धान्त पढेर सुरु नभएको बताए। यसअघि नेपालमा भएका विद्रोह, लखन थापादेखि भीमदत्त पन्त, झापाको विद्रोहदेखि किसान संघर्षसम्मको अध्ययनबाट नै जनयुद्धको रणनीति तय गरिएको उनको भनाइ छ। उनले जनयुद्ध राज्य शक्ति र अन्तर्राष्ट्रिय दबाबमा समेत टिकिरहेकाले जनताको निरन्तर साथ महत्वपूर्ण भएको उल्लेख गरे।

संसदीय अंकगणितका कारण माओवादी केन्द्रको संघर्ष कठिन भएको दाबी गर्दै प्रचण्डले भने, “यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापना गरेका मूल्य र मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, सहरमा प्रभावकारी रूपमा लागू गर्न सकेका भए आजको अराजकता र बेथिति रोक्न सकिन्थ्यो। संख्याको बल विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई थप चुनौतीपूर्ण बनाएको छ।”

उनले ७५३ वटै पालिकामा जनयुद्धका संघर्ष, त्याग र योगदानको गाथा लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्नेमा जोड दिँदै माओवादीमा आत्मालोचना र सुधारको परम्परा मौलिक रहेको दाबी गरे।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com