काठमाडौं । नेकपा एमालेका सांसद किरण कुमार साहले देशमा सुशासनको नारा दिने नेताहरूको व्यवहार असफल भएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले भने, सुशासनको नारा लगाउनेहरूको पालामा देश कुशासन र अपराधको दलदलमा डुबिरहेको छ। उनले रौतहटमा २५ दिनमा ५ जना निर्दोष नागरिकको मृत्यु भएको घटनालाई उदाहरणसहित उठाउँदै गृहमन्त्री रमेश लेखकको क्षमता प्रश्न गरे।
संसदमा उनले आग्रह गरे, ‘यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने मलाई एक महिनाका लागि दिनुहोस्। म देखाउँछु सुशासन, संविधान कार्यान्वयन र कानुन शासन के हो।’
गृहमन्त्री भए यी काम आफूले नायक फ्लिमको हिरोले झैँ गर्ने उनको दाबी छ । ‘मैले यस्तो भनिराख्दा हास्यास्पद हुन सक्छ’ उनले गृहमन्त्रालयको नेतृत्व माग्दै भने, ‘यदि नायक फिल्मको जस्तै सफल हुन सकिन भने म यही सदनको बीचमा राजीनामा दिनेछु ।’
साहले अपराधीलाई चाहे जतिसुकै शक्तिशाली किन नहोस्, निष्पक्ष र कडाइपूर्वक कानुनको दायरामा ल्याउने प्रतिवद्धता जनाए। उनले थपे, ‘जनताको रगतसँग खेलवाड सहन सकिन्न। अब सदनले निर्णय गर्नुपर्छ—जनताको ज्यानभन्दा ठूलो कुरा अरु केही हुन सक्दैन।’
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया